काठमाडौं/ ( हास्य कलाकार केदार घिमिरे ) माग्ने बुढा ४३ वर्षमा लागेका छन् । निर्देशक सन्तोष पन्तको ‘हिजो आजका कुरा’ बाट हास्य यात्रा सुरु गरेका घिमिरे मेरी बास्सैको चर्चित भूमिका ‘माग्ने बुढा’ बाट दर्शकमाझ चर्चित छन् ।

हास्य श्रृंखला ‘मेरी बास्सै’ मा सिताराम कट्टेल ‘धुर्मुस’ सँग मिलेर लेखन तथा निर्देशन समेत गरेका घिमिरे पछिल्लो समय भने अल्सर र डिप्रेसनले समस्यामा परेको समाचार आइरहेको छ ।

पछिल्लो समय उपचार गराइरहेका माग्नेलाई अन्य कलाकारले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका छन् ।

भाइ,साथी, सहयोगी हृदय भएको व्यक्ति, अरुलाई कहिल्यै हानी पार्ने काम गर्न नखोज्ने माग्ने बुढालाई जन्मदिनको शुभकामना भन्दै अभिनेता दीपकराज गिरीले फेसबुकमार्फत उनलाई शुभकामना दिएका छन् ।

त्यस्तै हास्य कलाकार किरण केसीले निरोगी हुने आशा व्यक्त गर्दै जन्मदिनको शुभकामना दिएका छन् । मनोज गजुरेलले पनि फेसबुकमार्फत जन्मदिनको शुभकामना दिएका छन् ।

प्रदर्शन हुन लागेको चलचित्र ‘राधे’ का निर्देशकले पनि राधे टिमको तर्फबाट जन्मदिनको शुभकामना दिएका छन् । बिरामीले लामो समय थलिएका माग्ने बुढा अहिले भने बिस्तारै स्वस्थ हुँदै गएका छन् । छिट्टै नै उनी आफ्नो काममा फर्कने उनका नजिकका साथीहरु बताउँछन् ।