एजेन्सी/ फिल्म अभिनेता अर्जुन रामपालमाथि मारपीटको आरोप लागेको छ ।

ती व्यक्तिका अनुसार एक फाइभ स्टार होटलको पार्टीमा रामपालले उनीमाथि क्यामाराको फ्ल्यास प्रहार गरेका थिए । प्रहरीले हाललाई उजुरी दर्ता भने गरेको छ । उत्तरपश्चिम दिल्लीका वासिन्दा सोभितको थप मेडिकल रिपार्ट माग गरिएको छ ।

सोभितको उजुरीमा रामपाल उक्त कार्यक्रममा डिजे बनेको बेला उनले एक फोटोग्राफरको क्यामेराको फ्ल्यास तानेर आफूमाथि प्रहार गरेको उल्लेख छ । डान्स फ्लोरमा साथीसँग नाचिरहेका बेला उनलाई फ्ल्यासले लागेको थियो ।

प्रहरीका अनुसार सोभितको टाउकोमा चोट लागेको छ । बिहान ४ बजे उनले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरीले उनलाई नजिकैको अस्पतालमा लगेको थियो । प्राथमिक उपचारपछि उनलाई घर पठाइएको थियो ।

उजुरीमा रामपाल डिजे बन्दा फोटोग्राफरले फोटो खिच्ने प्रयास गरेको र त्यतिकै फ्ल्यासको प्रकाशले क्रुद्ध बनेर रामपालले फ्ल्यासनै खोसेर फालेको उल्लेख रहेको प्रहरीको भनाई छ ।