बार्सिलोनाको बी टिमसँग १२–० ले पराजय भोगेपछि खेल मिलेमतोको आरोपमा इटालियन प्रशिक्षक फिलिपो डे पियरोलाई स्पेनिस प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ।
पियरो स्पेनको तेस्रो डिभिजन क्लब इल्डेन्समा आवद्ध थिए। जुन क्लब गत शनिवार भएको खेलमा बार्सिलोनाको बी टिमबाट १२ गोलले पराजित भएको थियो।
बार्सिलोना बी टिमको भने यसमा संलग्नता नभएको पाइएको छ। पियरो गत जनवरीमा क्लबमा आवद्ध भएका थिए। उनलाई इटालीको एउटा अपरिचित लगानी समूहले इल्डेन्स क्लबमा आवद्ध गराएको थियो।
यो पराजय स्पेनको तेस्रो श्रेणीको लिग सिगुन्डाको सबैभन्दा खराब नतिजामध्ये मानिन्छ। इल्डेन्स रेलिगेशनमा थियो। बार्सिलोना बी टिम लिगको शीर्ष स्थानमा छ।
क्लबका डिफेन्डर इमानुअल मेन्डीले स्थानीय रेडियो ‘काडेना सेर’लाई दिएको अन्तर्वार्तामा सहायक प्रशिक्षक फ्रान्ज रुइजले खेल मिलेमतोको लागि आफूसमक्ष प्रस्ताव ल्याएको खुलासा गरेका थिए।
‘उनले मलाई सोधेका थिए, तिमी मैदान भित्र हुँदा कति पैसा र बाहिर बस्दा कति पैसा लिन्छौँ,’ मेन्डीले अन्तर्वार्तामा भने। सहायक प्रशिक्षक रुइजले रेडियोसँगको अन्तर्वार्तामा यस कुरालाई स्विकार गरेका थिए र उनले माथिबाट आफूलाई निर्देशन आएको बताए।
बार्सिलोनाको पहिलो श्रेणीका प्रशिक्षक लुइस एनरिकले यो घटनालाई अति संवेदनशील भनेका छन्। तर, उनले बार्सिलोना टिमको संलग्नता नभएकोमा खुसी व्यक्त गरे।
































