इलाम/इलामको ठूलो टुडिँखेलमा आयोजित तेस्रो अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माईभ्याली गोल्डकपको छैठौँ दिनको अन्तिम क्वाटर फाइनल खेलमा शसस्त्र प्रहरीको एफपिएफ क्लबले सिएमजी संकटा क्लब काठमाडौँलाई १—० कोे गोल अन्तर गर्दै जीत दर्ता गरेको छ । एफपिएफका तर्फबाट खेल सुरु भएको १७ औँ मिनेटमा नविन लामाले गोल गरेका थिए ।

जीत गर्दै शसस्त्र प्रहरी प्रतियोगिताको सेमीफाइनलमा उक्लेको छ । संकटाका क्लबले खेलको निर्धारित समयसम्म पनि गोल फर्काउन नसेपछि हार वेहोर्न पुगेको हो ।यसअघिको पाँच खेलहरुमा संकटा क्लब र एफपिएफको भेटमा चार खेलमा संकटाले एफपिएफलाई पराजीत गर्दै आएकोमा इलाममा भने एफपिएफले हारको बदला लिएको छ ।

पछिल्लो चार खेल बुढासुब्बा गोल्डकप,सिमरा गोल्डकप,तिलोतमा गोल्डकपको बिजेता सिएमजी संकटाले इलाममा भने गोल गर्न सकेन । खेलमा अमृत तामाङले गोललाई गलत दिशामा पास दिएका कारण नै एफपिएफका नविनले गोल लाउने मौका पाएका थिए । सो गोल नै खेलको निर्णय गोल बन्न पुगेको हो ।दुबै टिममा अन्तराष्ट्रिय अनुभव बटुलेका खेलाडीहरुको सहभागिता थियो ।

जसमा संकटा क्लबका खेलाडीहरु राष्ट्रिय टिमका स्ट्राइकर बिमल घर्ति मगर,अनन्त तामाङ,अमृत तामाङ,विक्रम लामा,निराजन खड्का लगायत रहेका थिए भने एफपिएफका राजेन्द्र रावल,नविन लामा लगायत रहेका थिए ।प्रतियोगिताको म्यान अफ द म्याच शसस्त्र प्रहरीका नविन लामाले नगद सात हजार हात पारे ।

खेलमा संकटा क्लबका तर्फबाट राष्ट्रिय टीमका खेलाडी आएकोमा एफपिएफलाई खेलमा जीत गर्ने आश नरहेपनि प्रतियोगिता डिफेनसीप आवश्यक भएको र सोही तरिकाले खेल खेलेका कारणबाट मात्र जीत गर्न सफल भएको एफपिएफका प्रशिक्षक कुमार थापाले बताए । संकटाका खेलाडीहरुलाई गोल गर्ने मौका नदिएकाले मात्र खेल जित्न सफल भएको थापाले बताए ।

यस्तै संकटा क्लबका प्रशिक्षक राजेश तुलाधरले खेलाडीको सानो गल्तिका कारण हार्नु परेको बताए । मैदानको अनुभव समेत नरहेको र विपक्षी टीमका खेलाडीले गोल गर्ने मौका कम दिएकाले हारेको बताए । प्रतियोगिताको चैत २२ गतेबाट सेमीफाइनलका समिकरण पूरा भएको छ । चैत २३ गते हुने पहिलो सेमीफाइनल खेल नेपाल आर्मीको त्रिभुवन क्लब र नेपाल प्रहरी क्लबबीच हुनेछ ।

नेपाल आर्मीले तेस्रो दिनको क्वाटर फाइनलमा भारतको कञ्चनजघां क्लबलाई १—० गोलले हराउदै सेमिफाइनलमा उक्लेको थियो भने प्रहरीले मनाङ—मस्र्याङ्दी क्लबलाई हराएर सेमिफाइनलमा उक्लेको हो । प्रतियोगिताको बिजेता टिमलाई नगद चार लाख पुरस्कार रहेको छ भने उपबिजेता टिमलाई नगद अढाई लाख सगैँ ट्रफि र प्रमाणपत्र रहेको छ ।प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई यमाहाको १५० सिसिको एफजेटआरआर मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल चैत २६ गते हुनेछ ।