फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई सहयोग हस्तान्तरण एसोसिएसनका बोर्ड मेम्वर अनिल रायमाझी र स्विटी सिंह श्रेष्ठ । धुर्मुस–सुन्तली फाउण्डेशनलाई महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि अमेरिकामा बस्दै आएका नेपालीहरुको संस्थाले दुई करोड १० लाख सहयोग गरेको छ । अमेरिकामा बस्दै आएका नेपालीहरुको संस्था एसोसिएसन अफ नेपाली ईन मिनेसोटाले २१ चैतमा मुसहर बस्तीमै गएर सहयोग हस्तान्तरण गरेको हो । एसोसिएसनका बोर्ड मेम्वर अनिल रायमाझी र स्विटी सिंह श्रेष्ठले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरणपछि कुराकानी गर्दै फाउण्डेशनका बोर्ड मेम्बर रायमाझीले धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए । “हामीले गरेको सहयोग सदुपयोग होस, हामी खुशी छौं” रायमाझीले भने । त्यस्तै बोर्ड मेम्बर श्रेष्ठले विश्वासिलो संस्था भएकोले फाउण्डेसनलाई सहयोग गरेको बताउदै भनिन्, “हामीहरु सधैं नै फाउण्डेशनलाई सहयोग गर्न तयार छौं ।” मुसहर बस्ती निर्माण गरेर १ बैशाख, २०७४ मा स्थानीय बासिन्दालाई हस्तान्तरण गर्ने फाउण्डेशनको कार्यक्रम रहेको छ । तर रकम अभाव हुदा समस्या भएको थियो । बस्ती हस्तान्तरण गर्न १० दिन मात्रै बाँकी रहेको बेला पाएको सहयोगले उर्जा थपेको बताउदै फाउण्डेशनका अध्यक्ष धुर्मुसले धन्यवाद दिए । “यस सहयोगले हामीलाई अझै उर्जा थपेको छ र हामी अब ढुक्कले बस्ती हस्तान्तरण गर्न सक्ने भएका छौं” उनले भने । सुरुआतमा ५० वटा घर निर्माण योजना बनाएको भएपनि अहिले फाउण्डेशनले ५३ घर निर्माण गर्दैछ । फाउण्डेशन अफ नेपाली ईन मिनेसोटालाई सन् २००३ अमेरिकाको मिनेसोटा राज्यमा बसोवास गर्ने नेपालीहरुको समूहले नेपाली कला र संस्कृतिलाई जोगाउनका लागि स्थापना गरेका थिए । संस्थाले भूकम्पपछि सहयोग गर्दै आएको छ । यस अघि फाउण्डेशनले रेडक्रस, हेल्थकेयर तथा धादिङ्गमा विद्यालय भवन निर्माणका लागि सहयोग गरेको थियो ।