पुरुष सौन्दर्य प्रतियोगिता अन्तर्गत अन्तर्राष्ट्रिय स्पर्धाको नेपाली संस्करणका रुपमा नयाँ प्रतियोगिताको घोषणा भएको छ– ‘म्यान अफ द इयर नेपाल २०१७’ ।

यो प्रतियोगिता अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता म्यान अफ द इयरको नेपाली संस्करणका रुपमा संचालन गर्न लागिएको हो । अवतार इन्टरनेसनलको आयोजनामा संचालन हुने यो प्रतियोगितामा २४ देखि ३० वर्ष उमेर समूहका पुरुषहरुले सहभागिता जनाउने सक्नेछन् । प्रतियोगिताका विजेताले इन्डोनेसियामा आयोजना हुने म्यान अफ द इयर २०१७ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।

यस प्रतियोगिताको ग्रुमिङ अवधिमा सहभागिहरुले अन्तर्राष्ट्रिय स्तर पोर्टफोलियो शुट, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, संचार कला, स्टेज प्रस्तुति एवं र्‍याम्प वाक, फिटनेस, सेल्फ मेकअप, फेसन लगायतका विषयमा अभिमुखीकरण तथा विशेष तालिम प्रदान गरिने आयोजक पक्षले जनाएको छ । साथै दक्ष, क्षमतावान् र योग्य सहभागिहरुले म्युजिक भिडियो, टेलिश्रृङ्खला, चलचित्र एवं मिडिया प्रोमोसन तथा मोडलिङका विविध स्वरुपमा अवसर प्राप्त गर्ने बताइएको छ । म्यान अफ द इयर २०१६ को अन्तर्राष्ट्रिय संस्करणमा नेपालका तर्फबाट पहिलो पटक पूर्व मिष्टर नेपाल सन्दिप पोखरेलले सहभागिता जनाएका थिए । जसमा उनी प्रतियोगिताको टप टेन भित्र पर्नुका साथै पब्लिक च्वाइस अवार्ड र वेष्ट ट्यालेन्ट ‘मास्टर्ली’ अवार्ड जित्न सफल भएका थिए ।