बलीउड अभिनेत्री आलिया भट्ट र वरूण धवनको फिल्म ‘बद्रीनाथ की दुल्हनिया’ ले कमाईको मामलामा सिनेमा घरहरुमा धुम मच्चाइरहेको छ । यो फिल्मले भारतीय घरेलू बक्सअफिसबाट १०० करोडको आँकडा पार गरेको छ । मार्केट एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै यस विषयमा जानकारी दिएका छन् कि फिल्मले १४ औं दिनमा १०० करोड कमाएको छ । यसरी सय करोडमा प्रवेश गर्ने वरूण धवनको यो तेस्रो फिल्म हो । यो भन्दा पहिला ‘एबीसीडी २’ र ‘दिलवाले’ ले सय करोडको आँकडा पार गरेको थियो । त्यस्तै, ‘२ स्टेट्स’ पछि सय करोडको आँकडा पार गर्ने आलिया भट्टको यो दोस्रो फिल्म हो । आलियाले आफ्नो फ्यानहरुलाई ट्विट गर्दै धन्यवाद दिएकी छन् । यस बर्ष रिलिज भएका बलीउड फिल्महरु मध्ये सय करोडमा प्रवेश गर्ने यो चौंथो फिल्म समेत बनेको छ । यसभन्दा अगाडी शाहरूख खानको फिल्म ‘रईस’, ऋतिक रोशनको फिल्म ‘काबिल’, अक्षय कुमारको फिल्म ‘जोली एलएलबी २’ ले सय करोड कमाई गरेका थिए । ‘बद्रीनाथ की दुल्हनिया’ साल २०१४ मा आएको फिल्म ‘हम्पटी शर्मा की दुल्हनिया’ को सिक्वेल हो ।