राष्ट्रियसभाका सदस्यहरुले सुरक्षित र सहज तरिकाबाट ऋण प्रभाव हुने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा आज आयोजित ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफाबार छलफलको क्रममा उनले  सुरक्षित र सहज ऋण प्रवाहमा जोड दिए। 

विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ऋण दिने विषयमा सहजता र सुरक्षित हुने गरी विधेयक संशोधन गर्नका लागि सुझाव दिएका छन्। 

“संशोधन गर्न बनेको विधेयकमा कसरी सुरक्षित ऋण प्रभाव गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिइयोस्”, उनले भने, “ऋण सहज तरिकाले उपलब्ध नभइरहेको अवस्थामा अब सहज तरिकाबाट ऋण प्रभाव हुने गरी नीतिगत व्यवस्था होस् ।”

यसैगरी राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले एउटै धितोमा पटकपटक ऋण प्रभाव गर्न नपाउने गरी विधेयक संशोधन गर्नका लागि सुझाव दिएका छन्। यसैगरी राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठले धितोको मूल्याङ्कन गर्ने मापदण्ड तयार गरेमा सुरक्षित कारोबार हुन सक्ने बताए। 

राष्ट्रियसभा सदस्य पदम परियारले पछाडि परेका समुदायले सहज तरिकाले ऋण पाउने गरी नयाँ कानुनी व्यवस्था लागू हुनुपर्नेमा जोड दिए । 

कुनै पनि व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाउने लक्ष्यका साथ विधेयक संशोधन गर्न लागिएको हो । विश्वव्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापमा पनि परिवर्तन आइरहेको सन्दर्भमा कारोबारलाई थप सुरक्षित बनाउने गरी विधेयक परिमार्जन गर्न विषेशज्ञ सुमन आचार्यले सुझाव दिएका छन् । उनका अनुसार अन्नबाली खनिज पदार्थ आदिलाई पनि धितोको रुपमा राखिने छ।