विजयपुर । वराह बचत तथा ऋण सहकारी संस्थाले ‘गोल्डेन प्रोजेक्ट प्लानिङ’ को नाममा निक्षेपकर्तालाई जग्गा कारोबारी (दलाल) मार्फत् प्रचलित मूल्यभन्दा बढीमा जग्गा प्रदान गर्दा सहकारी पीडित झन् पीडित बनेका छन् ।

वराह सहकारी पीडित वेद सुब्बा वराह सहकारीले निक्षेपकर्तालाई जग्गा प्रदान गरिरहेको सूचना पाएपछि वराहक्षेत्र नपा अन्तर्गत बाङ्गे जाने बाटोमा रहेको जग्गा हेर्न गए । पीडित सुब्बाले भने, ‘जग्गामा नपुग्दै स्थानीयले त्योभन्दा नजिक चोक आसपास नै त्योभन्दा सस्तोमा दिन्छौँ भने, वराहको जग्गा त महँगो रहेछ ।’ स्थानीयको कुरा सुनेपछि सुब्बा जग्गा लिएर फाइदा नहुने देख्छन् । उनी भन्छन्, ‘प्रचलित मूल्यभन्दा महँगो भएकाले जग्गा नलिने सोचमा पुगेँ ।’

निक्षेपकर्ता आक्रोशित

वराह सहकारीका अध्यक्ष मानबहादुर दियालीले निक्षेप रकम फिर्ता लिन सामाजिक सञ्जालमार्फत् सूचना जारी गरेपछि निक्षेपकर्ताहरू उल्टै आक्रोशित भएका देखिन्छन् । सूचनामा १ हजार माथि २ हजार रुपैयाँसम्म निक्षेप हुनेले फिर्ता पाउने उल्लेख गरिएको छ । वराहले जग्गा कारोकारीमार्फत् निक्षेपकर्तालाई यसअघि नै ५० प्रतिशत रकम थप्न लगाएर जग्गा दिन थालेको छ ।

दियालीको फेसबुक स्टाटसमा शारदा खड्काले ‘मलाई चाहिँ पैसा नै दिइयोस्, कि त पैसाभरिको जग्गा दिनू । यो ५० प्रतिशत थप्न सकिँदैन । १० वर्षमा पनि बेच्न नसकिने जग्गा रहेछ । ८० मा किनेर १५० भिडाए, डुबेको माथि झन् डुबाउने प्रपञ्च नगरियोस् । जग्गा वराहको पनि होइन रहेछ ।’

वराहकै भवनमा नै ‘गोल्डेन प्रोजेक्ट प्लानिङ’ को नाममा काम गर्ने जग्गा कारोबारीले जग्गा वराहको नभई अर्कै व्यक्तिमार्फत् मिलाएर दायित्व घटाउन बचतकर्तालाई जग्गा दिँदै आएको बताए । वराह पीडित समूहका परामर्श दिने प्रकाश राईले पनि जग्गा कारोकारी (दलाल) मार्फत् जग्गा दिँदै आएको बताए । उनले भने, ‘वराहको जग्गा होइन, अरूको जग्गा नै मिलाएर दिँदै आएको छ ।’

उनले वराह पीडितहरूलाई बुझेर मात्र जग्गा लिन सुझाव दिने गरेको बताए । उनले भने, ‘जग्गा कति किनेको हो । संरचना बनाउँदा कति लागेको छ । त्यसको आधारमा उचित मूल्य लागेमा मात्र लिन सुझाव दिन्छौँ ।’

वराहको धरान–८ स्थित भवनको काउण्टरमा भेटिएका एक पीडितका अनुसार हाल वराहक्षेत्र, गछिया र केराबारी क्षेत्रमा जग्गा रहेको जानकारी दिइएको छ । ती व्यक्तिका अनुसार वराहक्षेत्रको जग्गा प्रतिधुर २ लाख २४ हजार रुपैयाँले दिने गरिएको छ । जग्गा कारोबारीमार्फत् न्यूनतम् प्रतिधुर १ लाख ४० हजार रुपैयाँदेखि २ लाख ७० हजार रुपैयाँसम्ममा जग्गा बिक्री गरिएको वराहको कार्यालयमा रहेको काउण्टरबाट जानकारी प्राप्त भएको छ । वराहको भानुचोकस्थित कार्यालयबाट जेशिका कन्स्ट्रक्सन एण्ड रियलस्टेट प्रा.लि. ले जग्गा प्रदान गरिरहेको छ । एउटै स्थानको जग्गा पनि दुई स्थानबाट फरक–फरक मूल्यमा कारोबार भइरहेको छ । वराहक्षेत्र जग्गा २ लाख ९० हजार रुपैयाँसम्मको मूल्यसूची आएको धनकुटे रोडस्थित वराहको भवनमा रहेको काउण्टरका एक व्यक्तिले बताए ।

जेशिकाका सञ्चालकलाई काउण्टरमा भेटिएन भने फोन सम्पर्क पनि हुने सकेन । दलालमार्फत् बढी मूल्यमा पीडितलाई जग्गा दिइरहेको विषयमा बुझ्न वराह सहकारीका अध्यक्ष मानबहादुर दियालीलाई फोन सम्पर्क गर्दा फोन उठेन । दुवै काउण्टरमा वराह सहकारीका सञ्चालक तथा समूहमा आबद्ध नभई जग्गा कारोबारीहरूले नै अड्डा जमाएर बसेका छन् । उनीहरूले वराह पीडितहरूलाई जग्गा देखाउन लानेलगायतका कार्य पनि गरिरहेका छन् ।