सानैदेखि सुमधुर स्वरमार्फत शिक्षक, शिक्षिका र परिवारजनको मन जितेका सुनसरी चतराका विवेक पाण्डे हाल पूर्वमा चर्चा कमाएको सफल साङ्गीतिक रियालीटी शो 'सङ्खुवासभा आइडल-सिजन ३' मा दर्शक स्रोताको मन जित्न सफल भइरहेका छन् ।

कोशी प्रदेशका विभिन्न स्थानमा छायांकन भइरहेको रियालिटी शोको उत्कृष्ट १५औं स्थानमा पर्न सफल विवेक हाल शोकै सिलसिलामा सङ्खुवा सभाको नुम र भोट खोलाको वरुण मेलामा साङ्गीतिक कार्यक्रम सकेर फर्किएका छन् । हाल उनी 'आइडल' को उत्कृष्ट १० को तयारीमा व्यस्त छन् ।

सानै उमेरदेखि देशका साङ्गीतिक हस्तीसँग 'स्टेज सेयर' गरेका विवेकले पछिल्लो समय सङ्खुवा सभाको नुममा आयोजित साङ्गीतिक कार्यक्रममा मिलन नेवारसँग स्टेज सेयर गरेका थिए । त्यसअघि उनले चतरामा आयोजित सरोवर साङ्गीतिक साँझमा डम्बर नेपालीसँग 'स्टेज सेयर' गरे । उनले विभिन्न साङ्गीतिक कार्यक्रममा चर्चित गायक गायिकासँगै आफ्नो प्रस्तुति दिने अवसर प्राप्त गरिसकेका छन् ।

मिलन, डम्बरसँगै विवेकले ज्योति मगर, रचना रिमाल, एलिना चौहान, टङ्क बुढाथोकी, अशोक दर्जीलगायतका कलाकारसँग प्रस्तुति दिइसकेका छन् ।

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिबिएस पहिलो वर्षमा अध्ययनरत विवेकलाई स्कुल पढ्दा साथीले गिटार बजाएको देख्दा त्यसैगरी गिटार बजाउने चाहना हुन्थ्यो । हाल उनी साङ्गीतिक क्षेत्रलाई नै पेशा बनाउने उद्देश्य बोकेको बताउँछन् ।

धरानस्थित सप्तक सङ्गीतालयमा 'स्वर कक्षा' लिइरहेका उनी गितार मजाले बजाउँछ्न् । हार्मोनियमको समेत अभ्यास गरिरहेका छन् । 

धरानको होटल मन शान्तमा नेपाली नयाँ वर्ष २०७८ सालमा गायिका मेलिना राईसँग 'स्टेज सेयर' गरेका उनको पहिलो प्रस्तुति हो । उक्त प्रस्तुतिबाटै दर्शकको मन जितेका विवेकलाई सुनसरीमा आयोजना हुने साङ्गीतिक कार्यक्रममा प्रायः देख्न सकिन्छ ।

गायन क्षेत्रमा ५ वर्षदेखि अभ्यासरत भए पनि विगत २ वर्षदेखि ठूला साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन थालेका छन् । धरान, विराटनगर, उदयपुरलगायत स्थानमा दर्जन बढी प्रस्तुति दिइसकेको उनी बताउँछन् । युवा पुस्तामा र्याप, पप गीतको 'क्रेज' रहे पनि उनी आधुनिक गीतसङ्गीतलाई प्राथमिकता दिन्छन् विवेक । 'सबै प्रकारका गीत गाउने प्रयास गर्छु, आधुनिक गीतले ताने पनि नेपथ्य ब्याण्ड चाहिँ मनपर्ने ब्याण्ड हो ।' विवेक भन्छन् ।

सङ्गीतको औपचारिक अध्ययनसँगै साधनाले स्थापित हुने मान्यता राख्ने विवेकले सङ्खुवासभा आइडलमा सहभागी भएर अनुभव बटुल्ने प्रयास गरेको बताउँछन् । आइडलको विजेता बन्ने उद्देश्यका साथ अभ्यास गरिरहेका उनी 'निर्णायक' को रोजाइमा परेका प्रतियोगी हुन् । आइडलमा उनको 'हिस्ट्री' हेर्दा निर्णायकको बढी अङ्क प्राप्त गर्ने सहभागी हुन् ।

हाल उनले सार्वजनिक रुपमा भोट अपिल गरिरहेका छन् ।

'सङ्खुवासभा आइडलमा मलाई भोट गर्नका लागि अपिल गर्दछु, विवेकले भने,' ईसेवा एपमा गएर 'भोटिङ एण्ड इभेन्ट्स' सेक्सनमा क्लिक गरेर सङ्खुवा सभा आइडल सिजन थ्रीमा गई 'भोट नाउ'- 'भ्यू नोमिनीमा' क्लिक गरी कन्टेस्टेन्ट नम्बर २२ मा गई आफूले सकेजति भोट गरिदिन हुन अनुरोध गर्दछु ।'

विवेकलाई चतराका स्थानीय साथीसङ्गी र क्याम्पसमा सँगै पढ्ने साथीहरुले विजयी बनाउन अभियान चलाएको एलन खड्काले बताए । 'साथी भएकाले मात्र होइन, एउटा सक्षम र उज्ज्वल साङ्गीतिक भविष्य र सम्भावना बोकेको प्रतिभासमेत भएकाले  विवेकलाई विजयी बनाउन अभियान चलाएका हौं ।' एलनले भने ।