'युवा पिढीको लक्ष्य, हाम्रो तयारी वर्ल्डकपको' भन्ने नारासहित कोशी प्रदेश फुटबल संघले सुरु गरेको प्रथम प्रेसिडेन्ट कप यु-१५ फुटबल प्रतियोगितालाई वर्ल्ड कपको तयारीका रुपमा अघि सारेको एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्षसमेत रहेका कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताएका छन् ।

आइतबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राइले प्रश्न गरे- 'यो हामीले भन्नै पर्ने भो कहिले हामी वर्ल्डकपमा पुग्ने त ?'

उनले वर्ल्डकपको तयारी अहिलेका १५ वर्षका खेलाडीबाट सुरु गर्नुपर्ने धारणा राखे । कोशी प्रदेश फुटबल संघको वर्तमान कार्यसमिति आइसकेपछि ४ वटा खेलकुदका गतिविधि गर्दा अन्य प्रदेश र जिल्लामा फुटबलका गतिविधि शून्य रहेको बताए ।

'किन ? सबै प्रदेशमा कार्यक्रम हुनुपर्छ भनेर वर्तमान एन्फाले त्यो किसिमको पहल, समन्वय र फुटबलको गतिविधि गर्ने त्यो सेन्टिमेन्ट पैदा गर्नुपर्दैन र ?' अध्यक्ष राईले प्रश्न गरे- 'आजभन्दा तीन वर्ष अगाडि प्रादेशिक लिगको च्याम्पियन भएर चार वटा लिग खेल्ने क्लबहरु अहिले होल्ड भएर बसिरहेको छ के यो मजाक हो?'

अध्यक्ष राईले जिल्ला र प्रदेश लिगको घोषणा गरेर अघि बढाउनु पर्ने अवस्थामा अझै पनि 'सी, बी र ए' को मात्रै कुरा गर्दा देशभरिका क्लबलाई ठूलो पिर, ठूलो मर्का परेको र ठूलो अन्याय भएको महसुस गरेको बताए ।

'एन्फाले चाडो प्रदेश लिगको तयारी गरोस्, जिल्ला लिगको तयारी गरोस्, त्यसमा लाग्ने खर्च, कार्यक्रम तालिका, स्थानीय रुपमा पनि हामी तयारी गर्छौं', अध्यक्ष राईले भने, 'हामी आत्मनिर्भर भएर, हाम्रो, पुजी, लगानी लगाएर हामी व्यवसाय गर्न सक्ने, आर्थिक आर्जन गर्न सक्ने फुटबलको त्यो माहोल हामी सिर्जना गर्छौं, तर केन्द्रले त्यो निर्णय गर्न सकोस् ।'

यु-१५ प्रेसिडेन्ट कप हेर्दा सानो भए पनि, बजेट सानो भए पनि यसको उद्देश्य ठूलो भएको अध्यक्ष राईले बताए । क्रिकेटले वर्ल्डकप खेलिरहेको प्रसङ्ग निकाल्दै उनले देशभरि फुटबलको माहोल भए पनि अपेक्षित विकास नभएको उल्लेख गरे ।

'अहिले हामीलाई के एडभान्टेज छ भने, ०२६ हुने वर्ल्डकपमा एसियाबाट आठ वटा टिमले खेल्न पाउँदैछ, हामी बेस १ मा आउने सम्भावनाको तयारी किन नगर्ने?, यो दस वर्षको अन्तरालमा क्रिकेटले, आइसीसीले एकै दिन पनि ग्याप राखेन, म्याचमा टुर्नामेन्टमा समावेश गर्यो, त्यसो हुनाले प्रगति गर्यो,' अध्यक्ष राईले भने, 'हामी भन्न गइरहेका छौँ, नेपाली फुटबलमा एजग्रुपका कार्यक्रमहरु र नेश्नल टिमलाई बाह्रमास नै ट्रेनिङमा राख्नुपर्छ । क्लोजक्याम्पमा राख्नुपर्छ । लिगहरु जजसले गर्न चाहान्छ गर्न दिनुपर्छ । जसले गर्दैन त्यसलाई निरुत्साहित गर्ने, कारबाही गर्ने गर्नुपर्छ । यस्तो अहम् निर्णय एन्फाले गरोस् ।'