पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर –५ स्थित सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । 

सात वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा कालाजार देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताएका छन्। बच्चामा कालाजार देखिएपछि बाह्र जनाको स्वास्थ्य परीक्षण गर्दा थप एक जना ६६ वर्षीय वृद्धमा  समेत कालाजार देखिएको पौवादुङ वडा नम्बर –५ सानोदुम्माका वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिएका छन्। वडामा कालाजार देखिएपछि रोकथामसँगै थप फैलन नदिन सजकता अपनाइएको उनले बताए ।  

उनले भने  वडामा दुई जनामा कालाजार देखिएको छ । यसलाई थप फैलन नदिन वडा तथा गाउँपालिकाको पहलमा सक्रियता र संचेतनाका कार्यक्रम अगाडि बढाएका छौं, वडाध्यक्ष राईले भने, “कसैमा ज्वरोको लक्षण देखिएमा तत्काल मानेडाँडा आधारभूत अस्पतालमा आएर जाँच गराउन सूचना जारी गरेको बताएका छन् । 

कालाजार थप रोकथामका लागि प्रभावकारी पहल गर्न सरकारसँग अनुरोध गरिएको उनले बताए। मानेडाँडा अस्पतालसँगै वडाका विभिन्न ठाउँमा परीक्षण भइरहेको वडाध्यक्ष राईले जानकारी दिए। कालाजार देखिएका वृद्धको आर्थिक अवस्था कमजोर रहेकाले गाउँपालिकाबाट सहयोग जुटाएर बाहिरका अस्पताल पठाउने तयारी गरिरहेको उनले बताए । 

गाउँपालिकामा कालाजारको बिरामी देखिएकाले यसको रोकथामका लागि पालिकाले सचेतनामूलक कार्यक्रम गर्नुका साथै सजकता अपनाएको पालिकामा कालाजारका बिरामी देखिएसँगै थप सजकता अपनाएर बिरामी देखिएका क्षेत्रमा किटनाशक विषादी छर्ने तयारी भइरहेको छ। साथै परीक्षणको दायरा बढाएर  लक्षण देखिएका बिरामीलाई उपचारको लागि गाउँपालिकाबाट आवश्यक  सहयोग गर्ने समेत राईले बताए ।

पालिकाभित्र कालाजार देखिएपछि डब्लुएचओको सहयोगमा परीक्षण भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिएका छन् । कालाजार देखिएका बिरामीलाई पालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने उनले बताएका छन् । 

तराईका जिल्लामा बढी मात्रामा कालाजारका बिरामी देखिए पनि यहाँको तल्लो भेगमा गर्मी बढी हुने भएकाले बिरामी फेला परेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्यायले बताए । रोकथाम तथा नियन्त्रणका लागि शाखाले पालिका तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक काम गरिरहेको उनले बताएका छन् ।