उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । 

नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने  भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गरेका थिए । दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्दहरू आदान प्रदान गरे । क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ । 

यसअघि रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सन् २०१९ मा भेटवार्ता भएको थियो । आजको द्विपक्षीय वार्तामा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय जगतले एक्ल्याएका नेताद्वयले हतियार सम्झौता गर्न सक्ने प्रवल सम्भावना रहेको सुरक्षा विश्लेषकहरूले बताएका छन् । 

राष्ट्रपति पुटिनले पनि हतियारलगायत सबै विषयमा छलफल हुने पत्रकारहरूलाई बताएका छन् । हतियार आपूर्ति वा सैन्य–प्राविधिक सहयोगबारे  छलफल हुन्छ कि भन्ने पत्रकारहरूको जिज्ञासामा उनले त्यस्तो जवाफ दिएका हुन् । नेता किमले उत्तर कोरियाको अन्तरिक्ष कार्यक्रम विकास गर्न चाहेको बताउँदै त्यसका निम्ति भूउपग्रह सहयोग गर्ने बताए । 

युक्रेनविरुद्धको युद्धमा  रुसलाई गोला बारूदलगायत हतियारको धेरै आवश्यकता परेको छ । विश्वका सबैभन्दा धेरै सैन्य सामथ्र्य भएका देशमध्येको एक उत्तर कोरियाले रूसलाई आफूसँग भएका तोप, गोली र रकेट प्रस्ताव गर्ने सम्भावना छ । प्योङयाङले पुराना क्षेप्यास्त्र पनि प्रदान गर्नसक्ने विश्लेषकहरू बताउछन् । उत्तर कोरियाको हतियार भण्डारमा रुसलाई चाहिने यथेष्ट उपकरण छन् किनभने उत्तर कोरियाले सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएयता कुनै युद्ध लडेको छैन । 

यसैबीच, उत्तर कोरियाली नेता रुसमा रहेका बेला दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्वी तटबाट प्योङयाङले छोटो दुरीका दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको घोषणा गरेका छन् ।