प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले बाढीमा परेर बेपत्ता भएकाहरुको चाँडो खोजी गर्न सरकारलाई आग्रह पनि गरिन् ।
सांसद ईश्वरीदेवी न्यौपानेले अनागरिक हुनाको पीडा नागरिकताबाट वञ्चित हुनेलाई मात्रै थाहा हुने बताइन् । नागरिकताविहीन नागरिकको रोदन मिश्रित एस एम एसले मोबाइल भरिएको बताउँदै सासंद न्यौपानेले नेपाली भएर पनि बैंकमा खाता खोल्न नपाउने, उच्च शिक्षाका लागि विदेश जान नसक्ने, कलेज टप भए पनि नागरिकताको प्रमाणपत्र नहुँदा छात्रवृत्ति नपाउने समस्या रहेको बताइन् ।
































