धरान । एम्स एकेडेमी मिस्टर एन्ड मिस फ्रेसनरको उपाधि प्रनोज राई र प्रशंसा तामाङले जितेका छन् । 

धरान–१९ ब्रिटिस सामुदायिक भवनमा शनिबार आयोजित प्रतियोगितामा मिस्टर फ्रेसनर प्रनोज बन्दा मिस फ्रेसनर प्रशंसा बनिन् । छैटौं संस्करणमा राजेश तामाङ मिस्टर फ्रेसनर बनेका थिए भने पूर्णिमा विश्वकर्मा मिस फ्रेसनर बनेकी थिइन् । निर्णायकत्रय नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज  श्रेष्ठ र मिस पूर्वाञ्चल २०१९ की फस्ट रनरअप सिम्रन लिम्बूले सोधेको प्रश्नको सङ्क्षिप्त जवाफ दिँदै ताज जित्न सफल भए । 

यस्तै फस्ट रनरअप सुशन स्याङ्बो र आर्या डोल्मा तामाङ भए भने सेकेन्ड रनरअप सन्देश राई र प्रतिक्षा शाक्य घोषित भए । विजेताहरूलाई कार्यक्रमका सभापति कलेज सञ्चालक समिति अध्यक्ष प्रकाश राई, निर्णायक अमर खड्का, सिम्रन लिम्बूलगायतले वितरण गरे । कार्यक्रममा प्रमुख अतिथि हिसानका केन्द्रीय सदस्य मुकुन्द घिमिरे रहेका थिए । उनले विद्यार्थीहरूले भविष्यका बारेमा चिन्ता गरेर अध्ययनलाई बढाउनुपर्ने र राष्ट्रको नाम राख्न आग्रह गरे । उनले आफ्नै देशमा बसेर योगदान दिने योग्य नागरिक बन्न आग्रह गरे । 

प्रतियोगितामा विभिन्न टाइटल पनि प्रदान गरिएको थियो । एम्स एकेडेमीका शैक्षिक संयोजक हेमन्त भण्डारीका अनुसार टाइटलतर्फ ट्यालेन्ट सन्देश राई र प्रतिक्षा शाक्य घोषित भए । यस्तै पपुलरतर्फ सन्देश राई र सुभेक्षा बस्नेत, बेस्ट स्माइलमा सुरज राई र स्वेता श्रेष्ठ, फ्रेन्डसिपमा सविन तामाङ र सलिना मोक्तान, फोटोजेनिकतर्फ सुशन स्याङ्बो र प्रशंसा तामाङ, एक्टिभतर्फ आलोक सुवेदी र निदिमा राई, र्याम्पवर्कतर्फ सङराज भुजेल र आशिका कार्की, डिसिप्लिनतर्फ आयुस खड्का, आर्या डोल्मा तामाङ, बेस्ट ड्रेसतर्फ प्रनोज राई र प्रतिक्षा लिम्बू घोषित भए । 

कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई ‘स्वागत’ गरिएको थियो । स्वागत कार्यक्रममा कक्षा १२ का विभिन्न सङ्कायका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए । साथै गायन पनि रहेको थियो । नेशनल कलेजका विद्यार्थीहरूले पनि नृत्य प्रस्तुत गरेका थिए । कलेजका सञ्चालक समितिका पदाधिकारी साथै कलेजका संस्थापक, कलेजका अध्यापकहरू लगायतको उपस्थिति रहेको थियो ।