दमासकस ।   सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा  दश  जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ ।

अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको जनाएको छ ।

एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।  घटनापछि अधिकारीहरूले नजिकका भवनहरु खाली गर्न लगाइएको बताइएको छ । 

भत्किएको भवन  गैर कानूनी तरीकाबाट निर्माण भएको अलेप्पोका अधिकारीहरूलाई उद्धृत गर्दै सानाले जानकारी दिएको छ । सिरियामा बर्षौदेखि जारी युद्धका कारण एलेप्पो सहर ध्वस्त भएको छ । यस सहरमा शरणार्थी स्थलबाट फर्केका केही  बासिन्दाहरू क्षतिग्रस्त वा आंशिक रूपमा मर्मत गरिएको भवनहरुमा बस्छन् ।