धरान । मिस्टर एन्ड मिस टिन वल्र्ड नेपालको दोस्रो संस्करणको आवेदन मङ्गलबारदेखि काठमाडौँमा खुल्ला गरेको छ ।

फेलिज इन्टरनेशनलले प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ । १६ वर्षदेखि २१ वर्षसम्मका युवायुवतीले भाग लिन पाउने आयोजकले जनाएको छ । एसईई तथा प्लस टु परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै कार्यक्रम गरिँदै आएको छ । सन् २०१७ सालदेखि कार्यक्रम हुँदै आएको छ ।

प्रतियोगिताका शीर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गर्ने जनाइएको छ । त्यसका अलावा द ब्रिटिस कलेजमा २० लाख रुपैयाँसम्मको छात्रवृत्ति, आयोजकका तर्फबाट नगद पुरस्कार १ लाख तथा विभिन्न उपहारहरूसमेत प्राप्त गर्नेछन् ।

त्यस्तै फस्ट रनरअप तथा सेकेन्ड रनर अपले ब्रिटिस कलेजबाट १५ लाखसम्मको छात्रवृत्ति तथा सहभागीले पहिलो वर्ष अध्ययनका लागि पचास प्रतिशत छात्रवृत्ति पाउने जनाइएको छ ।

प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिनमान बानियाँ, मोडल पूजा गिरी, कोरियोग्राफर रोजिन शाक्यलगायत रहेका छन् । अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज थापाथलीमा हुने आयोजकका निर्देशक साहिल खानले बताए ।