धरान । नेपाली फिल्म प्रेमगीत–३ भारतमा अर्कै नामबाट प्रदर्शन हुने भएको छ ।

निर्माता सन्तोष सेनले निर्माण गरेको फिल्मलाई हिन्दी भाषामा डबिङ गरेर भारतका हलमा प्रदर्शन गर्न लागेका हुन् । तर, फिल्मको नाम प्रेमगीत–३ नभएर ‘विश्वजीतम्’ हुने भएको छ ।

निर्माता सेनले आफ्नो फिल्मलाई हिन्दी भाषामा डबिङ गर्नका लागि एक वर्ष मुम्बईमा बसेर काम सम्पन्न गरेका छन् । उक्त फिल्मका लागि प्रदर्शनको अधिकार इम्पोसिबल फिल्म्सले प्राप्त गरेको छ । उक्त फिल्म खरिद पनि गरिसकेको जनाएको छ ।

निर्माता सेनले सामाजिक सञ्जाल फेसबुकमार्फत् हिन्दी भाषामा डबिङ र सम्पादनको काम सम्पन्न गरेकाले उक्त फिल्म इन्डियन मोसन पिक्चर प्रोडुसर्स एसोसिएसनमा फिल्मको नाम दर्ता भएको उल्लेख गरेका छन् ।

भारतमा विश्वजीतम् नामसहितको पोष्टर सार्वजनिक गर्ने तयारी गरिएको छ । नेपालमा भने प्रेमगीत–३ असोज ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दिवङ्गत छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउतलगायतको अभिनय रहेको छ ।