विराटनगर । मोरङ रतुवामाई नगरपालिका–६ काधुपाडाका ५२ वर्षीया विष्णुकुमारी खड्काका दुवै मिर्गाैला फेल भएको तीन वर्ष भयो । उनी दुई वर्षदेखि कोसी अस्पतालमा हप्ताको दुई पटक डायलाइसिस गर्न नियमित आउने गरेकी छन् ।

कोसी अस्पतालमा ‘एभी फिस्टुला’ बनाउने जनशक्ति नभएपछि उनी नोबेल अस्पतालमा गइन् । उनले १५ हजार रुपैयाँ नोबेलमा तिरेपछि हातमा एभी फिस्टुला बनाइदिए । त्यसपछि अहिले उनले कोसी अस्पतालमा हप्तामा दुई पटक निःशुल्क डायलाइसिस गर्दै आएकी छन् ।

‘निःशुल्क डायलाइसिस त भयो । डायलाइसिस  गर्नुभन्दा अगाडि गरिने एभी फिस्टुला बनाउने दक्ष चिकित्सक पनि कोसीमा राखिदिएको भए हामीजस्तो विपन्न परिवारका बिरामीको लागि राहत मिल्ने थियो’ कोसी अस्पताल परिसरमा भेटिएकी विष्णुकमारीले भनिन्, ‘यतिका वर्ष भइसक्यो । तर, हामीजस्तो दुःखीको माग न राज्यले सुन्छ, न त अस्पताल प्रशासननले नै । एभी फिस्टुला बनाउन पैसा तिरेर हैरानी भइसक्यौं । बाँचुञ्जेल डायलाइसिस गरिनुपर्ने हुन्छ ।’

यसरी गुनासो गर्ने विष्णुकुमारी मात्र होइनन् । कोसीमा नियमित १० देखि २० जनाले डायलाइसिस गर्दै आएका छन् । यहाँ उपचार गर्न आउने मिर्गौला पीडित बिरामीहरूले एउटै माग रहेको छ, ‘कोसीमा एभी फिस्टुलाको दक्ष जनशक्तिको दरबन्दी कायम गरी चिकित्सक राखिदिनुपर्ने ।’

‘एभी फिस्टुला’ बनाउने दक्ष जनशक्ति नहुँदा चर्को शुल्क तिरेर निजीमा बिरामी जान बाध्य भएका छन् । डायलाइसिस गर्नुभन्दा अगाडि बिरामीले हातमा ‘एभी फिस्टुला’ बनाउनुपर्ने हुन्छ । सिटिभिएस पढेका सर्जन डाक्टरले एभी फिस्टुला बनाउँछन् । एक पटक एभी फिस्टुला बनाएपछि एक देखि तीन वर्षसम्म डायलाइसिस गर्न  मिल्छ ।

एभी फिस्टुला कोसीमा बनाउने सिस्टमको विकास भए धेरै मिर्गाैला पीडित बिरामीलाई राहत पुग्ने सात वर्षदेखि दुवै मिर्गौला फेल भएर उपचार गर्दै आएकी मोरङ कटहरी गाउँपालिका–१ की ६० वर्षीया अलादी बिबीले बताइन् । ‘कोसीमा डायलाइसिस गरेको वर्ष दिन भयो’ उनले भनिन्, ‘नियमित जस्तै डायलाइसिस गर्न आउने गरेको छु । निःशुल्क डायलाइसिस हुने अस्पतालमा एभी फिस्टुला बनाउने चिकित्सक नहुनु दुःखको विषय हो ।’ राज्यले कोसी अस्पतालमा एभी फिस्टुला बनाउने चिकित्सक राखिदिनुपर्ने उनले बताइन् ।

केही दिनअगाडि एभी फिस्टुला बनाउने चिकित्सक नराख्दा बिरामीले सास्ती पाएको भन्दै पब्लिक फोरमको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पनि गराएको थियो । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलसहितको टोली बुधबार कोसी अस्पतालका मेसु डा. यज्ञराज खरेललाई भेटेर सेवा प्रवाह छिटो र छरितो तरिकाले सेवाग्राहीले पाउनुपर्ने ध्यानाकर्षण गराए । मिर्गाैला फेल भएका बिरामीहरूलाई डायलाइसिस गर्नुअघि शरीरमा लगाइने फिस्टुला अस्पतालबाहिर लगाउन अस्पतालले बाध्य पारेको भन्दै मेसु खरेलको ध्यानाकर्षण गराए ।

पब्लिक फोरमका अध्यक्ष ढुङ्गेलले नेपाल सरकारले आर्थिक रूपमा विपन्न भएका मिर्गौला फेल भएका बिरामीको लागि सरकारी अस्पतालमा डायलाइसिस सेवा निःशुल्क भए पनि एभी फिस्टुला लगाउन पैसा तिर्नुपर्ने बाध्यकारी नियम हटाउनुपर्ने बताए ।‘सरकारले निःशुल्क सेवा दिने भनिएको छ । तर, डायलाइसिस गर्नुभन्दा अगाडि बिरामीलाई फिस्टुला लगाउन बाहिर निजीमा पटाउने परिपाटीको अन्त्य हुनुपर्दछ’ उनले भने, ‘दक्ष जनशक्ति राखेर एभी फिस्टुला लगाउने चिकित्सक पनि अस्पतालमा राख्नुपर्नेछ ।’

कोसी अस्पतालमा दैनिक डायलाइसिस गर्ने पाँचवटा उपकरण रहेको छ । यहाँ दैनिक २० देखि २५ जना बिरामीले सेवा लिने गरेका छन् । डायलाइसिस डिपार्टका प्रमुख डा. रोशन खड्काले एभी फिस्टुला बनाउने सिटिभिएस पढेको  डाक्टर न्यून रहँदा समस्या भएको उनले बताए । ‘एभी फिस्टुला बनाउने सिटिभिएस पढेका डाक्टर प्रदेश १ मा औलामा गन्न सकिने रहेको छ’ उनले भने, ‘तेही भएर पनि समस्या भएको हो । तर, राज्यले मिर्गौला पीडितको समस्या सुनुवाइ गरिनु पर्दछ ।’

यता कोसी अस्पतालका मेसु डा. यज्ञ खरेलले फिस्टुला लगाउने दक्ष जनशक्ति नहुँदा समस्या भएको बताए । ‘एभी फिस्टुला’ बनाउने चिकित्सकको दरबन्दी कायम गराउन स्वास्थ्य मन्त्रीलाई जानकारी गराएको उनले सुनाए । उनले आफू मेसु भएदेखि अस्पताल सुधारका लागि आफू पनि दतचित्त भएर अभियानमा लागिपरेको उनको भनाइ छ  ।

koshi-2