भद्रपुर  नेपालमा लोप हुदै गएको धनुष वाण खेललाई जोगाइराख्न झापामा खेलाडी उत्पादन गरिने भएको छ । झापा जिल्ला आर्चरी सङ्घले यही चैत्र ११ देखी तीन दिनसम्म चन्द्रगढी स्थित मेची रङ्गशालामा खेलसम्बन्धी तालिमको आयोजना गरी खेलाडी उत्पादन गरिने जनाएको हो ।

 सङ्घले आइतबार विहान पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी गराएको हो । आर्चरी सङ्घका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ्ले खेलको बारेमा जानकारी गराएका थिए । नेपालमा वि.सं. २०४४मा दर्ता भएपनि खेलको शुरुवाति भने विं.सं. २०६२ सालबाट भएको अध्यक्ष गुरुङ्को भनाई छ ।

सन २०१६ मा रियो ओलम्पिकमा नेपालबाट मकुवानपुरका जीतबहादुर मोक्तानले भाग लिएपनि पुर्व तयारी नपुगेका कारण सफल हुन नसकेको उनले जनाए । खेलको बारेमा पुर्ण जानकार नहुँदा खेलाडीमा विचलन आइ खेलाडी नै पलायन भएका कारण यो खेल ओझेलमा परेपनि अब नेपालभर सकृय गराइने उनले जनाए ।

खेलका कोच समेत रहेका गुरुङ्ले हाल नेपालका १७ जिल्लामा यो खेल फैलिएपनि सन्तोषजनक खेलाडी उत्पादन गर्न नसकिरहेको गुनासो गरे । खेलमा १४ वर्षभन्दा माथिका दुवैसमूहले भागलिने खेलमा अन्य कुनै मापदण्ड नरहेको उनले जानकारी गराए ।

प्रदेश ४ को पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलमा प्रदेश १ बाट महिला पुरुष गरी ८ जना खेलाडीलाई छनौट गरी खेलमा भागलिनका लागि तालिम महत्वपुर्ण मानिएको उनको भनाई थियो । 

स्थानीय समेत रहेका गुरुङ्ले झापालाई धनुष वाणको खेलबाट परिचित गराउने उदेश्यले तीन दिन हुने तालिमका लागि केन्द्रबाट  दुईजना प्रशिक्षकले खेलको वारेमा प्रयोगात्मक प्रशिक्षण दिने उनले जानकारी गराएका थिए । प्रशिक्षक गुरुङ्ले जिल्ला सङ्घलाई व्यक्तिगत रुपमा ५ थान धनुष र तिर सहयोग गर्ने जनाए ।  

केन्द्रको अगुवाइमा २०७६ बाट झापामा सङ्घ गठन गरिएपनि कोभिडका कारण गतिविधि गर्न नसकिएको जिल्ला अध्यक्ष कविन राईले बताए । तीन दिने तालिममा जिल्लाका सवै पालिकालाई जानकारी गराई भव्यरुपमा खेलको चर्चा परिचर्चा गरिने जनाए । शुरुवातिमा १० मीटरको दुरीबाट तिर हान्ने र पछि ७० मीटरसम्म पुर्याइने उनको भनाई थियो । नेपाल वहिर भारत,वङगलादेश,चीन,कोरिया लगायतका देशहरुमा यो खेल परिचित भएको सङ्घले जनाएको छ । 

सङ्घका सचिव दीप पौडेलले सहजीकरण गरेको कार्यक्रममा जिल्लाका उपाध्यक्ष शम्शेर तामाङ, सहसचिव महेन्द्र कोइराला, कोषाध्यक्ष विशाल राई, सदस्यहरु विवेक लिम्बु,भुपाल कार्की, भरत गुरुङ्, राजन भट्टराई, विशाल लिम्बु, विजय लिम्बु, सुभाष राई , विवेक आचार्य , हाङ्ग नारायण लिम्बु, सञ्जय राई लगायतको उपस्थिती रहेको थियो । सङ्घलाई दरविलो वनाउन आदित्य पराजुली, प्रज्वल राई ,विगत ओझा र विनोद चापागाई सल्लाहकार समेत राखिएको अध्यक्ष राईले जानकारी दिए ।