हिन्दू संस्कारअनुसारको कर्मकाण्ड पूरा गराउन सामान्य परिवारका मानिसलाई खर्च धान्न हम्मे हम्मे पर्न थालेको छ । बढ्दो महँगीका कारण व्रतबन्ध गराउन समस्यामा रहेका परिवारलाई ध्यानमा राखेर नुवाकोटको देविघाटमा रहेको शहीद जगतप्रकाशजङग शाह संस्कृत माध्यमिक विद्यालयले सञ्चालन गरेको सामूहिक व्रतबन्धबाट ११४ बटुकका परिवार लाभान्वित भएका छन् । 

श्रीपञ्चमीको अवसरमा आज विदुर नपा–५ देविघाटस्थित नीलकण्ठ कैलाशधाम परिसरमा विद्यालयले सामूहिक ब्रतवन्ध सञ्चालन गरेको हो । संस्कृत विद्यालय सञ्चालन गर्न आर्थिक समस्या भएपछि स्रोत जुटाउन र सामान्य परिवारका बटुकको कर्म चलाउनका लागि २०५५ सालबाट सुरु गरिएको सामूहिक व्रतबन्ध अहिले सर्वसाधारणका लागि सस्तो खर्चमा सन्तानको चुँडाकर्म गराउने अवसर बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डङ्गोलले बताए । 

सामूहिक व्रतबन्ध कार्यक्रम विद्यालयको आर्थिक टेवामा सहजता ल्याउने माध्यमसमेत बनेको विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारले बताए । व्रतबन्ध अर्थात चुँडाकर्ममा अहिले लाखौं खर्च हुने गरेको छ । सामूहिक व्रतबन्धमा सानो रकमले संस्कार पूरा हुने भएपछि सामूहिक व्रतबन्धमा धनी गरिब सबैको आकर्षण बढेको छ । 

यस वर्ष प्रति बटुक  पाँच हजार लिएर व्रतबन्ध गराइएको हो । तोकिएको शुल्क विद्यालयलाई तिरेपछि विद्यालयका तर्फबाट बटुकका लागि एक जोर धोती, बटुक र अभिभावकलाई खानपिनको व्यवस्थासमेत गरिएको छ । सामूहिक व्रतबन्धमा सहभागी हुन नुवाकोटलगायत रसुवा, धादिङ र काठमाडौँबाट समेत बटुक आएको विद्यालयले जनाएको छ । 

अध्यक्ष डङ्गोलका अनुसार सामूहिक व्रतबन्धबाट अहिलेसम्म दुई हजार ३०० भन्दा बढीले लाभ लिइसकेका छन् । जिल्लाको एकमात्र संस्कृत विद्यालयले अहिले छात्रवासमा विद्यार्थी राखेर संस्कृत गुरुकुल शैलीको पठनपाठन सञ्चालन गरिरहेको छ । व्रतबन्धबाट आएको रकम छात्रवास सञ्चालन गर्न खर्च गरिने अध्यक्ष डङ्गोलले बताए ।