ताप्लेजुङमा यस वर्ष चौथो पटक  हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ । 

हिमपातले बाटो अवरुद्ध भएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । उनले भने, “आज ३० तीर्थ यात्री पाथीभरा मन्दिर क्षेत्र प्रवेश गरेका छन् । हिमपात जारी छ । हिउँले बाटो पूरै छोपिएको छ ।” 

पाथीभरामा जानुभन्दा पनि फकिर्न समस्या हुने गरेको महतले बताए । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ । ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुन्छ । पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात सुरु भएको हो ।

समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा समेत हिमपात भएको छ । हिमपातका कारण चिसो अत्यधिक बढेको छ । बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएको घुन्साका केल्साङ शेर्पाले जानकारी दिनुभयो । हिमपातले जनजीवन प्रभावित हुनाका साथै पशुचौपायसमेत प्रभावित बनेको उनले बताए ।  

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र भले, ग्याप्ला बस्तीमा पनि बाक्लो हिमपात भएको छ ।  मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङ बस्तीमा हिमपात अझै जारी रहेको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताए।

सदरमुकाम फुङ्लिङ बजारमा पनि चिसो बढेको छ । यसअघि पहिलो पटक पुस १३ र १४ गते दोस्रो पटक पुस २९ गते तथा तेस्रो पटक यही माघ ७ गते हिमपात थियो ।