पथरी । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास आयोग अन्तर्गत कानेपोखरी गाउँपालिकामा स्थानीय सेवा केन्द्र कार्यालय स्थापना भएको छ ।
सेवा केन्द्र कार्यालयको भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले एक कार्यक्रम विच बिहीबार उद्घाटन गरेको हो । गाउँपालिकाको आयोजनामा भएको कार्यक्रम दलका प्रतिनिधि, कार्यपालिका सदस्यहरू माझ अध्यक्ष निरौलाले स्थानीय तहमार्फत आयोगले काम अघि बढाउने हुँदा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने बताउँदै अरू जिल्ला भन्दा मोरङ जिल्ला यस कार्यमा अघि बढ्ने बताए । उनले अघिल्ला आयोगले काम जहाँ पुर्याएका थिए त्यहीबाट थाल्ने पनि बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले सुकुम्वासी समस्या सम्बन्धी यस अघि अरू पालिका भन्दा धेरै काम गरेको भएको बताए । उनले यस अघिका लालबाबु पण्डित आयोग, वसन्त भट्टराई आयोगले वितरण गरेका धेरै पुर्जाहरू मोठकायम हुन सकेको छैन, नयाँ आयोगलाई त्यसको समाधान तर्फ लाग्न आग्रह गरेका छन् । पुराना आयोगका अधुरा काम र दलित, भूमिहीन र अव्यवस्थित सुकुम्वासीहरूको समस्या समाधान गर्न गाउँपालिका प्रतिबद्ध रहेको अध्यक्ष काफ्लेले बताए ।
गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले कानेपोखरी गाउँपालिकामा सुकुम्वासीहरूको समस्या जटिल भएकोले सरकार परिवर्तन हुने बित्तिकै अर्को कार्यालय उद्घाटन गर्ने भन्दा पनि सुकुम्वासीहरूको समस्या समाधान तिर लाग्नु पर्ने बताइन् । उपाध्यक्ष इङ्नामले भनिन् ‘सुकुम्वासीहरूको समस्या समाधान गर्ने भनेर एक वर्षमा दुई पटक गाउँपालिकामा कार्यालय उद्घाटन भयो । त्यो सुनेर सुकुम्वासीहरूले हामीलाई प्रश्न गर्न थाले धनी पुर्जा तपाईँहरूले दिनुहुन्न रहेछ ।’
आयोग केन्द्रीय सदस्य सरिता महर्जन र जिल्ला अध्यक्ष सुशीला घिमिरेले तत्काल काम थालिने बताए । कार्यक्रममा नेकपा एमालेबाट भोला अधिकारी, माओवादी केन्द्रबाट मनोज राजवंशी, नेपाली काँग्रेसबाट जबरबहादुर राई र नेकपा एसबाट भूमि दुलालले बोलेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी र वडा नम्बर २ का वडाध्यक्ष सुशिल बुढाथोकी पनि उपस्थित रहेका थिए । कार्यक्रम छैटौ अधिकृत गोविन्द फुयलले सञ्चालन गरेका थिए ।
दलित, भूमिहीन र अव्यवस्थित सुकुम्वासीहरूको कार्यालय स्थापना गरेको दोस्रो पटक हो । यस अघि देवी ज्ञवाली आयोगले गाउँपालिकामा २०७७ माघ १० गते लगत सङ्कलन इकाई कार्यालय स्थापना गरेको थियो ।