विराटगनर । विराटनगरमा अस्पतालभित्रै उपभोक्ता ठगिने गरेको पाइएको छ ।

कमाउ धन्दामा लागेका चस्मा व्यापारीले उपभोक्तासँग मनपरी मूल्य लिएर ठगी गर्ने गरेको पाइएको हो । विराटनगरमा रहेको विराटनगर आँखा अस्पतालले चस्मामा उपभोक्तालाई ठगी गर्ने गरेको खुलेको छ ।

विराटनगर आँखा अस्पतालभित्र रहेको चस्मा पसलले अत्यधिक मूल्यमा चस्मा बिक्री वितरण गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तीन लाख रुपैयाँ जरिबानासमेत गरेको छ ।

विराटनगर–११ की शान्तादेवी बरालले विराटनगर आँखा अस्पतालभि त्र रहेको चस्मा पसलबाट चस्माको लेन्स दोब्बर बढी मूल्यमा खरिद गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम चस्मा पसललाई कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

‘विराटनगरका अन्य चस्मा पसलहरूमा संस्थागत रूपमा बुझ्दा चस्माको लेन्सको मूल्य १ हजार २ सय रुपैयाँ हाराहारीमा बिक्री वितरण गर्ने गरेको पाइएको छ । तर, विराटनगर आँखा अस्पतालभित्र रहेको चस्मा पसलले लेन्सको उत्पादन मूल्य २ हजार ५ सय कायम गरी २ हजार ६ सयमा बिक्री वितरण गरेर अधिक मुनाफा आर्जन गरी उपभोक्तालाई बिक्री वितरण गरेको भेटिएपछि विराटनगर आँखा अस्पताललाई कारबाहीको दायरामा ल्याएको हो’–उनले भने । कार्यालयले उपभोक्तासँग बढी मूल्य लिएको रकम पसलले उपभोक्तालाई फिर्ता दिन पनि निर्देशन दिएको छ ।

चस्मा पसललाई आगामी दिनमा २० प्रतिशत मात्र नाफा राखेर चस्माहरूको उपभोक्ता मूल्य कायम गर्न पनि निर्देशन दिएको प्रमुख पोखरेलले जानकारी दिए ।

उपभोक्ता बरालले चस्माको लेन्स खरिद गर्दा बजारभन्दा बढी मूल्य विराटनगर आँखा अस्पतालले लिएको पाइएपछि उनले आफू ठगीमा परेको पत्ता पाएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएकी थिइन् । उक्त उजुरीलाई आधार मान्दै वाणिज्यले अनुगमन गरी बढी मूल्य लिने पसललाई कारबाहीको दायरामा ल्याएको छ ।

बजारमा गलत क्रियाकलाप भएको अवस्थामा उपभोक्ताले दिएको तथ्यपूर्ण उजुरीसम्बन्धमा शीघ्र अनुगमन हुने हुँदा आफूले कुनै वस्तु र सेवा खरिद गर्दा ठगिएको महसुस भएमा तत्काल उजुरी गर्न कार्यालय प्रमुख पोखरेलले आग्रह पनि गरेका छन् ।