धरान । गायिका हर्षु राईको देशभक्ति भावको गीत ‘मेरो देश नेपाल’को भिडियो सार्वजनिक भएको छ ।

सोमबार धरानमा एक कार्यक्रम बिच वरिष्ठ गायक दीप श्रेष्ठ र धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले गीतको भिडियो सार्वजनिक गरे । गोपाल दाहालको शब्द रचना, विनोद प्रियदर्शी राईको सङ्गीत र किरण कँडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो नगेन्द्र लोहोरुङ राईले निर्देशन, छायाँकन र सम्पादन गरेका हुन् ।

सिल्भर इन्टरटेन्मेन्टको व्यवस्थापनमा भएको भिडियो विमोचन कार्यक्रममा बोल्दै वरिष्ठ गायक दीप श्रेष्ठले देशभक्ति भावको गीत लेखिने र गाईने क्रम कम भएका बेला ‘मेरो देश नेपाल’ गीत सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । कोरोना सङ्क्रमणपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका उनले गीत तथा भिडियोको टिमलाई बधाई समेत दिए ।

कार्यक्रमकी विशेष अतिथि धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारीले आफुलाई गीतका शब्द, सङ्गीत र गायनले छोएको बताउँदै अझै यस्तै गीतमा निरन्तरता दिन आग्रह गरिन् । कार्यक्रममा गायिका हर्षुले ‘मेरो देश नेपाल’ र ‘चेलिको सिन्दुर पुछियो’ बोलका गीत सुनाएकी थिईन् । गायिका सोफिया गुरुङ, गायक एपी शेर्पा, सङ्गीतकार जीवन भट्टराई, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।