धरान/ प्रदेश १ मा कोरोना सङ्क्रमण तीव्ररूपमा बढिरहेका बेला प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न निर्देशन दिएकी छन् ।

विज्ञहरूले कोरोनाको तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोहीअनुसारको तयारीमा जुट्न उनले निर्देशन दिएकी हुन् ।

कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्वतयारीका सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा सामाजिक विकास मन्त्री राईले त्यस्तो निर्देशन दिएकी हुन् । कार्यक्रममा मन्त्री राईले भनिन्, ‘हामी तयारी अवस्थामै थिएनौं भन्ने छुट कसैलाई छैन ।’

कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्वतयारीमा रहन निर्देशन दिँदै उनले  समस्या र चुनौतीको सबैले मिलेर मात्र समाधान गर्न सकिने बताइन् । कोरोनालाई परास्त गर्नका लागि सबै एकजुट भए मात्र सम्भव हुने उनले बताइन् । मन्त्री राईले अस्पतालको क्षमताअनुरूप कोरोना सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताइन् ।

मन्त्री राईले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्लाभित्रका सबै पालिकाहरूको अवस्था, आवश्यकता र तयारीसहित जिल्लाको समस्या, आवश्यकता पहिचान गरी आवश्यक तयारीसहित सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेश गर्न निर्देशन दिएकी छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईं, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरू, सदरमुकामका पालिकाका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरूको  सहभागिता रहेको थियो ।

१ हजार १ सय ४ जनामा कोरोना सङ्क्रमण
 प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । १ हजार ७ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ५२ र १ हजार ३ सय ३१ जनाको एण्टिजेन परीक्षण गर्दा ४ सय ५२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३ सय ७, सुनसरीमा १ सय ७७, मोरङमा १ सय २३, धनकुटामा १४, इलाममा ९, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको छ ।

झापाको दमकमा १ सय ११, बिर्तामोडमा ७३, अर्जुनधारा र कन्काईमा २३–२३, मेचीनगरमा २०, भद्रपुरमा १७, बुद्धशान्तिमा १४, शिवसताक्षीमा १२, कमल गाउँपालिकामा ४, बाह्रदशीमा ३, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, कचनकवल, हल्दिबारी र गौरादहमा १–१, सुनसरीको धरानमा १ सय १८, इटहरीमा ४०, वराहक्षेत्र र इनरुवामा ५–५, रामधुनी र दुहबीमा १–१ र स्थानीय तह नखुलेका ७, मोरङको विराटनगरमा ५५, केराबारीमा १८, उर्लाबारी र सुन्दरहरैचामा १३–१३, बेलबारीमा ८, पथरीशनिश्चरेमा ५, मिक्लाजुङ र ग्रामथानमा ३–३, रङ्गेली, लेटाङ, सुनवर्षी, रतुवामाई र कटहरीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रीबासमा २, महालक्ष्मी, छथर, साँघुरीगढी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २ र देउमाईमा १, सङ्खुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, तेह्रथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथरको फालेलुङ र ताप्लेजुङको मैवाखोलामा १–१ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा बिहीबार ३ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १ सय ७६ महिला र २ सय ६ पुरुष सङ्क्रमणमुक्त भएका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।