धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताल तोडफोड गर्नेहरु छुटेका छन् ।

हिजो दिउँसो करिब साढे ३ बजे कोभिड अस्पतालमा धरान १७ की ५४ बर्षीय शान्ति तामाङको मृत्यु भएको थियो । 

घरमा बाथरुममा लडेर घाइते भएकी उनलाई शुरुमा उपचारको लागि विजयपुर हस्पिटल लगिएको थियो ।

जनप्रतिनिधिसहित ईलाका प्रहरी कार्यालय धरानमा भएको छलफलमा तोडफोडमा भएको भोतिक संरचनाहरु मर्मत गराइदिने सर्तमा पक्राउ परेकाहरु छुटेको डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

उनले भने,‘एक पटक गल्ती गयो, तोडफोड भएको मर्मत गराइदिन्छौं भने । जनप्रतिनिधिहरुको पनि त्यही कुरा आएपछि छोडिएको छ ।’

प्रहरीले तोडफोडमा संलग्न भएको भन्दै ९ जनालाई पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालयमा भएको छलफलमा वडा नं १७ का वडाअध्यक्ष मनोज भट्टराई पनि थिए ।

उनले पनि क्षति भएको भौतिक संरचनाहरु बनाइदिने र खोजेको बेला उपस्थित हुने सर्तमा पक्राउ परेकाहरु छुटेको जानकारी दिए । उनले भने,‘उनीहरु छुटिसकेका छन् । शव पनि अन्त्येष्टीको लागि लगिएको छ ।’

त्यहाँबाट रिफर भएर वीपी प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएपछि कोभिड अस्पतालमा लगिएको थियो ।

 कोभिड अस्पतालमा उपचारको क्रममा उनको हिजो मृत्यु भएपछि आफन्तजनहरुले उपचारमा लापरवाही भएको भन्दै घटनाबारे छानबिन गर्नुपर्ने, मृत्यु हुनुपूर्वको विरामीको अवस्थाबारे जानकारी दिनुपर्ने, सिसिटिभी फुटेज हेर्न पाउनुपर्ने माग राखेका थिए ।

मृतक पक्षको माग अनुसार मंगलबार वार्ता भएर सिसिटिभी फुटेज हेर्न दिने सहमति भएको थियो । 

सहमति अनुसार फुटेज हेर्न कोभिड अस्पतालमा पुगेका आफन्तजन भनिएका व्यक्तिहरुले ढुंगा प्रहार गर्दै ढोका र झ्यालको सिसा फुटाइदिएका थिए भने केही व्यक्तिहरु भित्रै प्रवेश गरेर स्वास्थ्यकर्मीहरुलाई गालीगलौज गरेका थिए ।