कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । 

पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने भएको हो ।

पालिकाका अध्यक्ष रमेश भुजेलले पालिकाभित्रका सम्पूर्ण पसल, व्यवसाय, सरकारी तथा गैरसरकारी कार्यालय र मानिसको आवतजावतसमेत पूर्णरूपमा बन्द गरिने बताए । 

अत्यावश्यक सेवा भने सञ्चालन गरिने उनको भनाइ छ । उनले मेची राजमार्गमा आवतजावत हुने सवारी साधनलाई भने रोक नलगाइएको बताए । 

वडाहरुमा गरिने एन्टिजेन परीक्षणबाट दैनिक ३५ देखि ४० जनासम्ममा पोजेटिभ देखिएपछि बाध्य भएर पालिका बन्द गर्नुपरेको उनको भनाइ छ ।

पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि तथा स्थानीय प्रशासनको संयुक्त बैठकले सो निर्णय गरेको हो । 

कोरोना संक्रमितहरु नै बजारसम्म तरकारी किन्न जाने र बेवास्ता गर्दै खुलेआम हिँडिरहने कारण पनि कोभिड–१९ को संक्रमण दर बढेको उनको भनाइ छ ।

पालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले दोस्रो लहरको कोभिड–१९ को भेरियन्टमा मात्र १४ जनाको मृत्यु भइसकेको बताए । 

उनका अनुसार पालिकाभित्र हालसम्म ३५० सक्रिय संक्रमित रहेका छन् ।