गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आगामी निर्वाचनमा न्यू साउथ वेल्स (एनएसडब्लु) को सचिव पदका लागि विनोद कुँवरले उम्मेदवारी दिएका छन् ।

एनआरएनए अस्ट्रेलियाको लक्ष्य र उपलब्धीलाई मजबुतीका साथ मेट्रोदेखि एनएसडब्लु रिजनल एरियासम्म थप जोडदिने उद्देश्यका साथ उनले उम्मेदवारी दिएको बताएका छन् । 

सचिव पदका प्रत्याषि कुँवरले यस अघि नेपालीलाई ‘आइटी’मा कामको नारासहितको अभियान सञ्चालन गरेका थिए । कोभिड महामारीमा नेपाली विद्यार्थीलाई  ‘स्क्ल्डि कोर्ष’ प्रदान गरेका थिए । अस्ट्रेलियामा रहेर नेपालीका लागि सामाजिक कार्यमा अग्रसर कुँवरमार्फत् ‘नेपाल र नेपालीका लागि एक्स्ट्रटेच’ ले महावीर पुन र एनआरएन अस्ट्रेलियामार्फत् सहयोग गरेको थियो ।

उम्मेदवारी दिंदै कुँवरले आफ्नो प्रतिबद्धता–पत्रसमेत सार्वजनिक गरेका छन् । प्रतिबद्धता–पत्रमा उनले ‘मेन्टल हेल्थ इस्युज’, ‘ट्याक्स इस्युज’, ‘एन्टि–ग्याम्बलिङ क्याम्पेन’, ‘डोमेस्टिक भायोलेन्स’, ‘बिच सेफ्टी’ लगायतका विषयमा डिजिटल प्लेटफर्ममार्फत् जनचेतना जगाउने र नेपालीलाई साक्षात्कार गराउने उल्लेख गरेका छन् । 

यस्तै सबै एनआरएनएलाई राज्य समुदायमार्फत् नीति निर्माण र कार्यान्वयनमा प्रोत्साहित गर्ने बताएका छन् ।  

प्रतिबद्धता–पत्रमा सचिवका आकांक्षी कुँवरले ग्र्याजुएट विद्यार्थीलाई ध्यानमा राखी विभिन्न कम्पनी र रोजगारदातालाई आमन्त्रण गरी ‘रोजगार एक्स्पो’ गर्ने, विद्यार्थीलाई काम खोज्ने तरिका सिकाउनका लागि समय–समयमा ‘करियर काउन्सलिङ’ सम्बन्धी कार्यशाला गर्ने, रोजगार सम्बन्धि प्राविधिक जानकारीका लागि समय–समयमा ‘टेक–टक’ कार्यक्रम संचालन गर्ने र राज्य र स्थानीय सरकारको नीति नियमहरु सहज तरिकाले डिजिटल उपकरणको माध्यमबाट सुसूचित गराउने उद्देश्य राखेका छन् ।

युथ कोर्डिनेटरमा विक्रमको उम्मेदवारी

अस्ट्रेलियामा युवामाझ लोकप्रिय इटहरी घर भएका विक्रम दाहालले ‘युथ कोर्डिनेटर’ पदका लागि उम्मेदवारी दिएका छन् । 

अस्ट्रेलियामा ‘असल्याण्ड’ र ‘असपाली’ ग्रुपका एड्मिन, ६ हजार बढी नेपालीलाई विभिन्न रचनात्मक, मनोरञ्जनात्मक र खेलकुद कार्यक्रम गर्दै ‘एन्टि–गेम्बलिङ’ लाई प्रोत्साहन गर्दै आइरहेका विक्रमले युवा उद्यमलाई जोड दिंदै आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

उम्मेदवारी दर्ता गर्दै उनले सार्वजनिक घोषणा समेत गरेका छन् । विक्रमले आफू विजयी भएपछि नेपाली विद्यार्थीलाई उद्यममा लगाउने घोषणा गरेका छन् । उनले रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइदिने प्रतिबद्धता जनाएका छन् । हालसम्म १२ सय बढी नेपाली विद्यार्थीलाई सहयोग गरिसकेको उनको दाबी छ । 

इटहरीमा रहँदासमेत अनाथ आश्रममा सहयोग गर्ने गरेको उनले उल्लेख गरेका छन् ।  ‘लोकल काउन्सिल’सँग मिलेर नेपाली समुदायको आवाज माथि उठाउने, सरकारी कोष प्राप्त गर्ने सूचना सत्र चलाइरहने, आगामी दिनमा युवा उद्यमलाई नीतिगत रुपमा बुलन्द गर्ने, व्यावसायीकरणका लागि नेपाली युवालाई सक्षम बनाउने, खेलकुद, मनोरञ्जनसहित नेपाली संस्कारसंस्कृतिलाई अस्ट्रेलियामा प्रचारप्रसार गर्ने बिक्रमको प्रतिबद्धता छ ।

एनआरएनएको निर्वाचन आगामी जुलाई ३१ मा अस्ट्रेलिया  भरि हुन गइरहेको छ । 

निर्वाचन अनलाइन प्रणालीबाट हुने भएको छ । निर्वाचनले २०२१–२३ को लागि नयाँ नेतृत्व चयन गर्ने छ । स्थानीय समयानुसार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म भोट हाल्ने कार्यतालिका बनाइएको छ ।