धरान/ स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस मनाउदै गर्दा शुक्रबार धरानमा नेकपा एमालेको दुवै समुहका नेता, कार्यकर्ताहरुले एकताको सन्देश दिएका छन् ।

केपी ओली पक्षका नेता विजयकुमार राईले पार्टीभित्र अन्तरसंघर्ष हुनु स्वभाविक भएपनि विभाजन गर्न नहुने धारणा राखे । उनले पनि धरानबाट पार्टी एकताको सन्देश निद सफल भएको बताए । उपमेयर मञ्जु भण्डारी सुवेदीले तारा सुब्बाको स्मरण गर्दै धरानको स्मार्ट बसपार्क योजना अघि बढेको जानकारी गराएकी थिइन् । स्थानीय नेता नारायण सुवेदीले पार्टी एक हुनुको विकल्प नभएको भन्दै नेताहरुलाई पार्टी एकढिक्का बनाए लैजान आग्रह गरे ।

नेतृ सविता राईले सबैको अस्तित्व स्वीकार गर्दै पार्टी र संगठनलाई अघि बढाउन नेताहरुलाई आग्रह गरेका थिए । स्मृति दिवस मनाउन एकजुट भएका दुवै समुहका नेता, कार्यकर्ताहरुले हरियाली वन समुहको हाताभित्र निर्माण गरिएको स्वर्गीय मेयर सुब्बाको प्रतिमामा माल्यार्पण पनि गरेका थिए ।

tara-subba-1

पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समुहबीच विवाद केन्द्रमा विवाद बढेर पार्टी विभाजन गर्ने तहसम्मको चर्चा भइरहदा धरानमा भने दुवै पक्षका नेता, कार्यकर्ताहरु एक ठाउँमा उभिएका हुन् । उनीहरुले शुक्रबार बिहान तारा सुब्बाको तेस्रो स्मृति दिवस धरान १९ स्थित हरियाली सामुदायिन वन हातामा सँगै मनाएका छन् ।

माधन नेपाल पक्षीय नेता रमेश बस्नेतले धरानबाट नेकपा एमाले एकजुट भएको सन्देश दिएको बताए । उनले पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै एमाले, सुर्य चिह्न र कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउने एकमात्र लक्ष्य लिएर अघि बढ्नुपर्ने बताए । ’आज हामी कुनै गुट, उपगुट नभनिकन एकै मञ्चमा उभिएका छौं, पार्टी एकढिक्का भएर अघि बढाउनुपर्छ,’उनले भने ।