धरान / आज (बुधबार) उपमहानगरपालिका र निर्माण व्यवसायी गिताञ्जली जेभि दुहबी सुनसरी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

धरान ८ स्थित तीनकुने शुन्दर बस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको छ ।

मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनिसँग सम्झौता पत्रमा हस्ताक्षर भएको धरान उपमहानगरपालिकाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए ।

उपमेयर मञ्जु भण्डारीले ३० वर्षदेखि जनप्रतिनिधिले देखेको सपना अब पुरा हुन लागेको बताए । उपमेयर भण्डारीले पनि समयमा नै योजना सम्पन्न गर्न आग्रह गरे । निर्माण व्यवसायी गिताञ्जली जेभिका सञ्चालक सपन दासले अब १५ दिनभित्रमा काम निर्माण थाल्ने बताए । तोकीएको समयभित्र निर्माण पुरा गर्ने पनि उनले प्रतिवद्धता जनाए ।

मेयर तिलक राईले उपमहानगरपालिकाले लामो समयदेखि थाति रहेको योजनालाई सम्झौता गरेर अगाडी बढाउन पाएको बताए । धरानको विकास र समृद्धिको लागि विगत लामो समयदेखि बसपार्क निर्माण योजना थियो । अब चाडै पुरा हुने भयो । ठूला योजनाहरुमा विभिन्न टिकाटिप्पणी, सल्लाह सुझाव, विवादहरु हुने गरेको मेयर राईको भनाई थियो ।

धरानमा स्मार्ट बसपार्क बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

dharan-smart-buspark2

ठेकेदार कम्पनिले १५ दिनभित्रमा निर्माण कार्यलाई अगाडी बढाउने इञ्जिनियर श्रेष्ठले बताए । इञ्जिनियर श्रेष्ठका अनुसार बसपार्क करसहित गरेर २३ करोड १५ लाख ३ हजार २ सय ९६ रुपैयाँ ४६ पैसामा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनिसँग सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उनले भने, ‘३ वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । ५० प्रतिशत नेपाल सरकारको अनुदान (३ वर्षभित्रमा प्राप्त हुन्छ) भने बाँकी ५० प्रतिशत स्रोत धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

चाडोभन्दा चाडो बसपार्क निर्माण सकियो भने धरानको शुन्दरता थप झल्किने मेयर राईको धारणा छ । मेयर राईले बसपार्क निर्माणको योजना समयमै गुणस्तरिय रुपमा सम्पन्न गर्न सुझाव दिदै ठेकेदार कम्पनिसँग आग्रह गरे । साथै, सुरुदेखि अहिलेसम्म यस योजनामा अहोरात्र रुपमा खटेका उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई मेयर राईले धन्यवाद समेत व्यक्त गरे।