तस्बिर- पाख्रीबास बजारको हुलाकी चोकमा विरोध सभा गर्दै नेकपा एमाले धनकुटाका नेता तथा कार्यकर्ताहरु । 

गएको असार १० गते पाख्रीबास नगरसभामा तोडफोड भएको घटनाको  विषयलाई लिएर नेकपा एमाले धनकुटाले आफ्ना सयौं कार्यकर्तासडकमा उतारेर विरोध जनाएको छ ।

जिल्ला अध्यक्ष राजेन्द्रकुमार राईको नेतृत्वमा जिल्ला भरीका युवा तथा अगुवा कर्याकर्ता पाख्रीबास पुगेर घटनाको निन्दा गर्दै विरोध गरेका छन् ।

सोमबार नेकपा एमालेको अगुवाईमा खबरदारी गर्दै धनकुटाको हिले हुँदै पाख्रीवास बजारसम्म युवाहरुको मार्चपास गरेका थिए । मार्चपास पछि आयोजित बिरोध जुलुस, नगर परिक्रमा गरेर विरोध सभामा परिणत भएको थियो ।

विरोध सभालाई जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान, नेकपा एमाले पाख्रीबास नगर कमिटी अध्यक्ष शान्तिराम गौतम, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा धनकुटा इञ्चाज वलदीप राई र  पाख्रीबास नगरपालिकाका मेयर वृषबहादुर राईले सम्बोधन गरेका थिए । विरोध सभामा प्रदेश नं.‘क’ का सभासद् निरन राई ‘ख’ का ईन्द्रमणी पराजुली स्थानीय ७ तहका प्रमुख, उप–प्रमुख, पार्टीका जिल्ला सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।

असार १० गते पाख्रीवास नगरसभामा जनप्रतिनिधि माथि नेकपा एमाले माधव समूह र नेपाली कांग्रेसलगायत दलहरुका कार्यकर्ताहरुले तोडफोड तथा जनप्रतिनिधिहरु माथि हातपात गरेका थिए । घटनामा संलग्न केही युवाहरु तारिखमा रहेका छन् भने केही फरार भएका छन् ।