विराटनगर/ नेपाल औषधि व्यवसायी संघको ४८ औं स्थापना दिवस विविद्य कार्यक्रम आयोजना गरि मनाउने भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले ४८ औं स्थापना दिवस हप्ताभरी विभिन्न कार्यक्रम गरि मनाउने भएको हो ।

संघको स्थापना दिवसको अवसर पारेर आइतबार मोरङको उर्लाबारीस्थित बालआश्रममा रहेको बालवाकिालहरुका लागि खाद्यान्य र स्वास्थ्य सामाग्री वितरण गरिने भएको छ ।

त्यस्तै मोरङको पूर्वी क्षेत्रमा रहेका संचारकर्मीहरू आवद्ध रहेको संचार क्लबलाई पनि संघले स्वास्थ्य सामाग्री वितरण गर्ने भएको छ । संघको स्थापना दिवसको अवसर पारेर विराटनगरस्थित कोशी अस्पतालमा रहेको विरामीहरूलाई पनि फलफूल वितरण गरिने अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए । 

यस्तै असार १० गते संघको विराटनगरस्थित कार्यक्रलयमा विहान ८ बजे झण्डोतोलन कार्यक्रम रहेको छ । सोही दिन विहान ९ बजे विराटनगरको हस्पिटल चौकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

कोरोना रोकथाम र नियन्त्रणको सयमा गरिएको निषेधाज्ञाको समयमा चरम रुपमा रगत अभाव भइरहेको अवस्थामा रगत नभएर कसैको पनि ज्यान नजाहोस  भन्ने उद्देश्यले स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । असार १० गते साझ संघमा आवद्ध भएका सम्पूर्ण सदस्यहरुले औषधी पसल अगाडी स्थापना दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम पनि राखिएको छ ।

यस अगाडी पनि संघले बुढीगंगा गाउँपालिकामा रहेको महिला जागृति तथा वृद्धााश्रममा रहेको ज्येष्ठ नागरिकहरुलाई खाद्यान्य र स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर संघले जिल्ला प्रहरी कार्यालय, मातहतका कार्यालय र सञ्चारकर्मीहरुलाई पनि स्वास्थ्य सामाग्री वितरण गरेको थियो । कोशी अस्पतालमा पनि विरामीलाई फुलफूल वितरण गरिएको छ ।