विजयपुर। सुनसरी जिल्लाका औषधि पसलहरुले चिकित्सकको सिफारिस बिना कोरोना भाइरसको औषधि भनि कुनै पनि औषधि विक्रि गर्न नपाउने भएका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरीको सरोकारवालासँगको बैठकले औषधि विक्रि गर्न नपाउने निर्णय गरेको हो । प्रशासनले कोरोना भाइरसको औषधि भन्दै औषधि पसलहरुले नक्कली औषधि विक्रि गरेको पाइएपछि निर्णय गरेको जनाएको छ ।
प्रशासनले कुनै औषधि पसलले चिकित्सकको सिफारिस बिना विक्रि गरेको पाइएमा कारबाही गर्ने भएको छ । विक्रि गरे नगरेको स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयले गर्ने निर्णय गरेको छ ।
साथै होम आइसोलेसनमा बसेका संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था नियमित चेक गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । नियमित स्वास्थ्य अवस्था चेक गर्ने व्यवस्था वडा स्तरमा संयन्त्र बनाई गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
संक्रमित व्यक्तिलाई थप उपचार गर्नुपर्ने भएमा तत्काल अस्पताल पुर्याउने निर्णय गरेको छ । प्रशासनले तरकारी विक्रि वितरण घरघरमा लगेर विक्रि गर्न पाउने निर्णय गरेको छ । तरकारी जिल्ला बाहिर पनि ढुवानी गर्न पाउने जनाएको छ ।
तर, सब्जी पसल तथा सडकको पेटीमा विक्रि गर्न भने नपाउने कार्यालयलले जनाएको छ ।