कोरोना भाइरसका कारण नेपाल भारत सीमा नाका सिल गरिए पनि सीमामा अवैध कारोबार भने अझै रोकिएको छैन । 

भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित माछाको भुरा, चिनी र खैनी (सुर्ती) सहित सशस्त्र प्रहरीले दुई वटा ‘छोटा हात्ती गाडी’ नियन्त्रणमा लिएपछि नाका सिल गरिंदा पनि तस्करी भइरहेको खुलेको हो ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वार्टर झापाबाट खटिएको टोलीले शुक्रबार बिहान ३ बजे गौरीगञ्ज गाउँपालिका ५ बाट मे १ ज १९०८ नम्बरको ‘छोटा हात्ती गाडी’मा राखेर दमकतर्फ लैजाँदै गरेको ठूलो परिमाणको पङ्गास माछाको भुरासहित गाडी नियन्त्रणमा लिएको गणका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।

नेपालमा प्रतिबन्धित अढाई क्विन्टल पङ्गास माछाको भुरा गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको एसपी पाण्डेले बताए । माछाको भुरा गौरीगञ्जका कारोबारी सुनिल सनहीले भारतबाट अवैध रुपमा नेपाल भित्राएको बुझिएको छ । बरामद माछाको भुरालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्सपेक्टर विभुराज दाहालको नेतृत्वमा अस्थायी पशु क्वारेन्टाइन चेक पोस्ट भद्रपुर र स्थानीयको रोहबरमा नष्ट गरिएको उनले जानकारी दिए । बरामद माछाको भुराको नेपाली बजार मूल्य साढे पाँच लाख रहेको जनाइएको छ ।

यसअघि वैशाख १७ गतेका दिन पनि कारोबारी सनहीले दुई क्विन्टल सोही जातका  माछाको भुरा भित्राएका थिए । माछाको भुरालाई मे १ ज ३०१६ नम्बरको पिकअप गाडीमा लोड गरी पठाउन लाग्दा सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीबाट गाडीसहित माछाको भुरा नियन्त्रणमा लिएको थियो ।

त्यस्तै सशस्त्र प्रहरीले शुक्रबार बिहान ५ बजे ठूलो परिमाणमा चिनी र सुर्ती समेत बरामद गरेको छ । मे १ च ५३२९ नम्बरको ‘छोटा हात्ती गाडी’बाट ४६ बोरा चिनी र १५ बोरा बादसाह खैनी (सुर्ती) सशस्त्र प्रहरीले बरामद गरेको एसपी पाण्डेले बताए । मोरङको सिजुवाबाट चोरी निकासी गरी भित्र्याइएको सो परिमाणको चिनी र खैनी झापाको बाटो प्रयोग गरी दमकतर्फ लैजाँदै गरेको अवस्था विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले बरामद गरेको हो । सो सामान कसले भित्राएको भन्ने कारोबारीको नाम खुलेको छैन । 

बरामद गरिएको चिनी १ लाख ३८ हजार, खैनी ४५ हजार र गाडी ८ लाख गरी ९ लाख ८३ हजार मूल्याङ्कन तोकेर शुक्रबार दिउँसो भद्रपुर भन्सार कार्यालय बुझाइसकिएको बताइएको छ । 

त्यस्तै माछाको भुरा ल्याउने गाडीलाई ४ लाख ३३ हजार मूल्याङ्कन तोकेर भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।