मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. ७ मा पर्ने ‘ऐतिहासिक स्थल कानेपोखरी’ मा खुल्ला व्यायामशालासहित पर्यटकका लागि आकर्षक पोखरी निर्माण गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको पहलमा मन्त्रालयबाट ५० लाख गाउँपालिकामा आएपछि पोखरीलाई आकर्षक गन्तव्य बनाउने तयारी सुरु भएको हो । 

सो बजेटले आगामी असारसम्ममा काम सम्पन्न हुने गरी काम सुरु भएको छ । त्यस क्षेत्रमा खुल्ला व्यायामशाला, प्रवेशद्वार (गेट), वनभोज खाने कटेज, विश्रामालय, खानेपानी ट्युबवेललगायत निर्माण गरिने निर्माण समितिका अध्यक्ष विष्णु राईले बताए । पोखरीको पूर्वपट्टि सेल्फी खिच्नका लागि सेल्फी डाँडा पनि बनाइने भएको छ ।

ऐतिहासिक पोखरीलाई रंगेली–कानेपोखरी हुलाकी मार्गले छोएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कानेपोखरी चोकदेखि १ किलोमिटर दक्षिणमा पर्दछ । अहिले सो पोखरी छेउमा धिमाल जातिको ग्रामथान छ । 

पोखरी निर्माण र पर्यटकीय आकर्षण बनाउनको लागि धिमाल ग्रामथान त्यहाँदेखि दक्षिण सार्ने निर्णय पनि भएको पोखरी निर्माण समितिका सचिव हिमप्रसाद तिम्सिनाले बताए । 

ग्रामिण सुधार सामुदायिक वन समूहको क्षेत्रभित्र पर्ने सो पोखरीमा सामुदायिक वनले यस अघि वैज्ञानिक वन व्यवस्थापन गरी रुखहरु कटान गरेको छ । पोखरीको क्षेत्र लगभग १ बिघाको बनाउने समितिले जनाएको छ । पोखरीलाई यस अघि पनि गाउँपालिकाले पोखरी गहिरो खनेर ‘कान’ जस्तै आकार दिएको छ । खुल्ला व्यायामशाला आइतबारे बजार, जहदा र कानेपोखरी चोकका स्थानीयहरुलाई नजिक हुने छ ।