सुनसरीमा कोरोनाका कारण युवा समूह बढी प्रभावित पाइएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार २१ देखि ३० वर्ष उमेर समूह सबै भन्दा बढी प्रभावित देखिएको हो । 

स्वास्थ्य प्रमुख सागर प्रसाईंले दिएको जानकारी अनुसार जिल्लाको कुल सङ्क्रमित मध्ये २१ देखि ३० वर्ष उमेर समूहको संख्या २८ दशमलव ९ प्रतिशत रहेको छ । त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूह २३ दशमलव ६ प्रतिशत संक्रमित पाइएको प्रसाईंले जानकारी दिए ।   

स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमित हुनेमा ४१ देखि ५० वर्ष उमेर समूह १६ं दशमलव १ प्रतिशत रहेको छ भने जिल्लामा ५१ देखि ६० वर्ष सम्मका व्यक्तिहरु १२ दशमलव २ प्रतिशत सङ्क्रमित पाइएका छन् । 

त्यसैगरी जेष्ठ नागरिक तर्फ ६१ देखि ७० वर्षका व्यक्तिहरु ६ दशमलव ४ प्रतिशत कोरोना पोजेटिभ पाइएका छन् ।  

जेष्ठ नागरिक तर्फकै ७१ देखि ८० वर्षको उमेर समूह ३ दशमलव १ प्रतिशत, ८१ देखि ९० वर्षका १ प्रतिशत र सो भन्दा माथिको उमेर समूह ० दशमलव १ प्रतिशत सङ्क्रमित पाइएको कार्यालयले जनाएको छ । 

कार्यालयको तथ्याङ्कका आधारमा अहिलेसम्म कोरोना सङ्क्रमित पाइएका १० वर्ष मुनिका बालबालिकाको संख्या ३ प्रतिशत रहेको छ । ११ देखि २० वर्ष उमेर समूह भने ५ दशमलव ६ प्रतिशत कोरोना संक्रमित पाइएका छन् ।  

कार्यालयले महामारी फैलँदो क्रममा रहेकाले जिल्लावासीलाई घरमै बस्न आग्रह गरेको छ । कार्यालयले स्वास्थ्यका मापदण्ड पालनामा जोड दिन आग्रह गरेको छ ।

सुनसरीमा दोस्रो लहरसँगै कोरोना सङ्क्रमितको संख्या दैनिक बढ्दो क्रममा छ । स्वास्थ्य कार्यालयले प्राप्त जानकारी अनुसार जिल्लामा सकृय सङ्क्रमितको संख्या २ हजार नाघेको बताएको छ । मृतकको संख्या ४० पुगेको छ ।