कोरोना महामारीमा लकडाउनले शुन्य बनेको वराहक्षेत्रको चतराघाटस्थित सडकमा सांझ करिब साढे ५ बजे बाटोमा एक्कासी भीड जम्मा भयो । बिना कारण हिंडडुल समेत बन्देज गरिएको बाटोमा त्यसरी भीड भएपछि स्थानीय प्रहरी तत्काल त्यहाँ पुग्यो । 

भीडलाई पन्छाएर हेर्दा, समाजको अमानवीयताको चरम रुप देखेर प्रहरी समेत छक्क पर्याे । भुइँमा रातो कपडा छोपिएको एक निर्दोष किशोरको मृत शरीर देखेर सोधपुछ  शुरु भयाे । 

सोधपुछ गर्दै जाँदा मंगलबार बिहान खोटाङ जिल्लाको चिसापानीस्थित घोर्ले भन्ने ठाउँमा भएको टेम्पो दुर्घटनामा गम्भीर घाइँते भएर उपचार गराउँन विराटनगर आएका १२ वर्षका मृतक गोकुल परियार रहेछन् । उनको शरीर कपडाले नछोपेको अवस्थामा त्यतिकै खुल्ला थियो । खुल्ला सडक माथि खुल्ला मृत शरीर । स्थानीय श्याम श्रेष्ठले तन्ना दिएर शव छोप्न लगाए ।

शवको छेवैमा रुन्चे भएर बसेका मृतकका दाजु बमबहादुर परियारलाई प्रहरीले किन यसरी बसेको भनेर सोधे । बाटाेमै भाइकाे निधन भएपछि  लिएर आएको एम्बुलेन्सले दुबैलाई  अलपत्र पारेर छोडेर हिंडेछ । उनी डांको छाडेर राेइरहे ।

टेम्पो दुर्घटनामा गम्भीर घाइँते ३५ वर्षका चालक जीवन राई र किशोर गोकुललाई लिएर विराटनगर हिंडेका एम्बुलेन्स चालक हिमाल शाक्यले दिवंगत गोकुल प्रति  कत्ति पनि मानविय संवदेना नदेखाई अपमान जनक रुपमा वस्तु झारे जस्तो गरी शव ओराल्न लगाई घाइते राईलाई लिएर बाटो लागे । 

चतरा प्रहरीका सई अमर कुमार लावतीले तत्काल चालक शाक्यलाई फोन गरेरपछि  करिब आधा घण्टापछि आए । चालकले शव र मृतकका दाजुलाई विराटनगर तर्फ फर्काएको सई लावतीले जानकारी दिए ।

'घटनामा गम्भीर घाइँते राईको ज्यान बचाउन उनलाई जतिसक्दो छिटो अस्पताल पुर्याउनु धेरै राम्रो कुरा हो । राई प्रति हार्दिक सहानुभुति छ ,उनको शिघ्र स्वास्थ्य लाभको कामना गरौं । तर एउटा लाई बचाउने प्रयास गर्दा अर्को लाई विशेष गरी मृत शरीरलाई त्यसरी छोड्नु मृतकको अपमान त हो नै, साथै  चालकको चरम लापरवाही र गैरजिम्मेवारी पनि हाे ।' स्थानीय श्याम श्रेष्ठले भने ।