भद्रपुरस्थित मेची अञ्चल अस्पताल मातहत रहेको मेची कोभिड–१९ उपचार केन्द्र

मा सङ्क्रमित बिरामीहरू उपचार नपाएको विषयमा समाचार सार्वजनिक भएपछि भद्रपुर नगरपालिका कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।  

भद्रपुर नगरसहित जिल्लाभरि कोरोना भाइरसका सङ्क्रमित सङख्या बढ्दै गएको र जनशक्तिको अभाव पनि देखिएकोले मेची कोभिड उपचार केन्द्रमा जनशक्ति थप्ने व्यवस्था नगरपालिकाले गरिदिएको छ ।

जिल्लाका अन्य पालिकाहरूले चिकित्सकसहितको संस्थागत आइसोलेसन व्यवस्था गरिरहेको बेला नगरभित्र रहेको अस्पतालको उपचार केन्द्रमा भद्रपुर नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट दुई जना मेडिकल अफिसर, एक जना स्टाफ नर्स र दुई जना हेल्थ असिस्टेन्टको व्यवस्था गरिदिएको नगरका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिए ।   

मेयर श्रेष्ठ, मेची अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेल, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पीताम्बर ठाकुर, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शान्तिराम भट्टराईसहित को छलफलमा मेचीमा थप अक्सिजन प्लान्ट सञ्चालनका लागि पनि नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको छ । अक्सिजन आवश्यक पर्ने बिरामीको सङ्ख्या निकै बढेकोले अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग गर्ने निर्णय गरिएको मेयर श्रेष्ठले बताए । 

त्यसैगरी नगरपालिकाले नगरभित्रका गम्भीर अवस्थाका कोरोना सङ्क्रमित बिरामी बोक्न एम्बुलेन्ससमेत सञ्चालनमा ल्याएको निर्णय गरेको छ । भद्रपुर नगरपालिका– १० निवासी ५० वर्षीय श्रीमानलाई उनकी श्रीमती माया आफैंले शनिबार बेलुका साढे ७ बजे मेची कोभिड उपचार केन्द्र लिएर आएकी थिइन् । शुक्रबार बेलुका श्रीमानलाई उपचार केन्द्रमा ल्याए पनि केन्द्रमा खटिने चिकित्सक तथा नर्सको टोलीले आएर नहेरिँदा उनी तनाव थिइन् ।

श्रीमानको उपचारमा कोही नआएपछि श्रीमानसँगै कुरुवा बसेकी मायाले अन्ततः सञ्चारमाध्यामको सम्पर्कमा आएकी थिइन् ।