जीर्ण भएको भवनको छत खसेर एक कार्यालय सहयोगी घाइते भएकी छन् । दक्षिणी झापाको कचनकवल गाउँपालिका ६ नम्बर वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी कमला गौतम घाइते भएकी हुन् । 

बाहिर बसेकी कार्यालय सहयोगी गौतमलाई सोमबार छतको पर्दा झर्दा उनको टाउकोमा गम्भीर चोट लागेको ६ नम्बर वडा अध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए । घटनापछि घाइँतेको उपचार गराएर घरमा नै आराम गर्न राखिएको कार्कीले बताए । 

साबिक बनियानी गाउँ विकास समितिको कार्यालय समेत रहेको सो वडा कार्यालयको भवन २०५२ सालमा बनेको बताइएको छ । बर्खामा छतबाट पानी रसाउने भवन पूरै जीर्ण बनिसकेको वडा अध्यक्ष कार्कीको भनाइ छ । जनप्रतिनिधि र कर्मचारी जीर्ण कार्यालय भवनमा काम गर्न बाध्य बनेको उनले गुनासो गरे । 

अध्यक्षले कमिशन मागेपछि निर्माणधीन भवन अलपत्र

वडा अध्यक्ष कार्कीले काममा पटक–पटक अवरोध गर्नुका साथै कमिसन मागेको जुनतारा कन्स्ट्रक्सन सञ्चालक राजकुमार राईले आरोप लगाएका छन् ।

राजनीतिक भन्दा पनि व्यक्तिगत टसलका कारण निर्माण कार्य समयमा सम्पन्न हुन नसकेको सञ्चालक राईले बताए । यस विषयमा गाउँपालिकामा पनि निवेदन दिइसकेको उनको भनाइ छ ।  

यता वडा अध्यक्ष कार्कीले कति कमिसन मागेको भनी प्रमाणित गरिदिन निर्माण कम्पनीका सञ्चालक राईलाई चुनौती दिएका छन् । राजनीतिक प्रतिशोध निकाल्न ममाथि आरोप थुपारेर भवन नबाउने ठेकेदारको योजना रहेको उनको भनाइ छ । 

कमिसन माग्ने होइन, बरु दिन तयार छु, तर भवनको काम सक्नुपर्छ ।’ उनले भने । 

जीर्ण भवनबाट कामकाज प्रभावित बनेपछि वडा अध्यक्ष कुलबहादुर कार्कीकै पहलमा जिल्ला समन्वय समिति झापाले वडा कार्यालयको नयाँ भवन बनाउन ४० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । 

समन्वय समितिले आर्थिक वर्ष ०७६–७७ मा सो रकम छुट्टाएपछि गाउँपालिकाले थप १६ लाख छुट्टाएर ५६ लाख रुपैयाँको लागत इस्टिमेटसहितको सूचना आह्वान गरेका थिए ।

त्यसपछि सो भवनको ठेक्का जुनतारा कन्स्ट्रक्सन भद्रपुरले करिब ४२ लाख रुपैयाँमा लिएको हो । कम्पाउन्डसहितको भवन निर्माणको समय अवधि एक वर्ष तोकिएको गाउँपालिकाका इञ्जिनियर अमित ढुङ्गानाले जानकारी दिए । त्यस अवधिभित्र निर्माण कम्पनीले ९० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए । हालसम्म ३१ लाख रुपैयाँको काम सकिसकेको र निर्माण कम्पनीले दुई पटक म्याद थपिसकेको इञ्जिनीयर ढुङ्गानाको भनाइ छ । अन्तिम किस्ता रकमका लागि जिल्ला समन्वय समितिसँग माग गरिसकेको उनले बताए ।