वराहक्षेत्रमा  कोरोना संक्रमणबाट २ महिला सहित ३ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा वडा नं. ७ की ८५ वर्षीया वृद्ध दिलमाया तामाङ र ११ नं. वडाकी ४५ वर्षीया अमोलदेवी मुखिया छन् । अर्का पुरुष वडा नं. १० का ७२ वर्षका उपेन्द्र बस्नेत हुन् ।

बस्नेतको आइतबार चक्रघट्टीस्थित सप्तकोशी क्याम्पसमा सञ्चालित कोरोना विशेष वराहक्षेत्र आइसोलेसन सेन्टरमा मृत्यु भएकाे थियाे भने  मुखियाको नोबेल अस्पतालमा सोमबार मृत्यु भएको हो । वृद्धा दिलमायाको भने २० गते आफ्नै घरमा मृत्यु भएको  आइसोलेसन सेन्टरका इन्चार्ज अहेव प्रमोद यादवले जानकारी दिए । 

नपामा संक्रमित हुने को संख्या बढेर ४४ पुगेको छ । शनिबारदेखि सञ्चालनमा आएको आइसोलेसन सेन्टरमा भर्ना भएका ५ मध्ये २ को ज्यान गएको छ । अहिले सेन्टरमा १ महिला र २ पुरुष गरी ३ जना संक्रमित रहेको अहेव यादवले बताए ।

क्वारेन्टिनमा रहेका सबैको ट्राभल हिस्टोरी काठमाडाैं, विराटनगर, संखुवासभाबाट आएको र एकजना स्थानीय रहेको यादवले बताए ।

संक्रमितहरु २ जना निको भएर घर गएको सेन्टरले जनाएको छ ।

निषेधाज्ञामा कडाइ गर्दै प्रहरी

यता निषेधाज्ञालाई अटेर गर्ने बढेपछि स्थानीय प्रहरीले कडाइ गर्न थालेको छ ।

गाइडलाइन उल्लङ्घन गरी बिना कारण हिंडडुल गरेको भन्दै चक्रघट्टीस्थित इलाका प्रहरी कार्यालयले दर्जन बढीलाई स्थानीय मुनाल चौक, बुद्धचौक र बांगे बजारमा बनाइएको गोलो घेरामा २ घण्टा राखेर पठाएको  इ्रप्रका चक्रघट्टीका प्रहरी निरीक्षक पांडव राजवंशीले बताए ।