प्रेस चौतारी नेपाल सुनसरीले जिल्लाका स्थानीय तहलाई कोरोना संक्रमणको विषम परिस्थितिमा पत्रकारहरुको सुरक्षा र अधिकारका लागि जिम्मेवार हुन आग्रहसहित ध्यानाकर्षण गराएको छ । 

सञ्चारकर्मको क्रममा गाउँ, शहर पुग्ने सञ्चारकर्मीहरु घरमै सीमित हुनु परेको भन्दै चौतारीले निषेधाज्ञाका कारण सञ्चारकर्मीको आर्थिक स्रोतमा कमी आउँदा सञ्चारगृहहरु पनि सञ्चालन खर्च धान्न नसकेर बन्द हुनु परेकाले सञ्चारकर्मीहरु प्रत्यक्ष मारमा परेको तर्फ ध्यानाकर्षण गराएको छ । 

आज वराहक्षेत्र नगरपालिकामा नगरप्रमुख निलम खनाललाई चौतारीकी जिल्ला सदस्य समेत रहेकी वराहक्षेत्र नगर कमिटि अध्यक्ष विमला घिमिरेले ७ बुँदे ध्यानाकर्षणपत्र हस्तान्तरण गरिन् ।

ध्यानाकर्षण पत्रमा यस तहलाई आधार बनाएर काम गर्ने सञ्चारकर्मीहरुको लागि लेखनवृत्ति (फेलोसिप) कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ । 

वराहक्षेत्रमा रहेका सबै सञ्चारमाध्यमहरुलाई समानुपातिक रुपमा विज्ञापन उपलब्ध गराउन र कोभिड १९ को महामारीको समयमा विशेष प्याकेज सहयोगका लागि आग्रह गरेको छ । 

कोभिड १९ को महामारीमा परेका पत्रकारहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रेस चौतारी नेपाल सुनसरीले खडा गरेको राहत कोषमा आर्थिक सहयोग गर्न आग्रह गरेको छ । 

महामारीका बीचमा सञ्चारकर्ममा रहेका पत्रकारहरु तथा सञ्चारगृहहरुलाई समाचार सङ्कलन तथा सम्प्रेषणमा आवश्यक सहयोग तथा समन्वयका लागि अनुरोध गर्दै चौतारीले फिल्डमा खटिइने पत्रकारहरुका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गरिएको छ ।

ध्यानाकर्षण पत्रमार्फत चौतारीले सञ्चारमाध्यम र सञ्चारगृहहरुको विकासका लागि निरन्तर सहयोगको लागि आग्रह गरेको छ । 

चौतारीले कोभिड १९ को महामारीबाट सिङ्गो विश्व प्रभावित रहँदा नेपाल अनि हाम्रो सुनसरी जिल्ला पनि त्यसबाट अछूतो हुन सकेको छैन । बढ्दो संक्रमण र त्यसलाई रोक्न सरकारले गरेको निषेधाज्ञाबाट जिल्लाको सञ्चार क्षेत्र पनि प्रभावित बनेको उल्लेख गरेको छ । 

आम जनतालाई सुसूचित गर्ने र सामाजिक हित, एकता, विकास अनि समृद्धिको लागि हातेमालो गरिरहेका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई यो महामारीको अवस्थामा सहयोग गर्नु स्थानीय तहको अविभावकीय जिम्मेवारी हुन आउने पनि चौतारीको ध्यानाकर्षणमा उल्लेख छ । 

स्थानीय तहले बोकेको समृद्धि र विकासको अभियानमा सधैं सँगै रहेको प्रेस चौतारी नेपालले आफ्नो नारामै स्वतन्त्र र सबल प्रेस नै समृद्ध नेपालको आधारको नारालाई समेटेको उल्लेख गरिएको छ । 

सञ्चार र सञ्चारकर्मीलाई समस्या परेको अवस्थामा प्रेस चौतारी नेपाल सुनसरीले स्थानीय तहसँग समग्र सञ्चारकर्मीको हित, विकास र सञ्चारमाध्यमको संरक्षणका निम्ति आग्रह गरेको चौतारी वराहक्षेत्रका ईञ्चार्ज विजयकुमार राईले बताए । 

महामारीको विषम परिस्थितिमा चौतारीले जिल्लाभर एकै पटक स्थानीय तहका प्रमुखलाई भेटी ध्यानाकर्षण पत्र दिएको जिल्ला संयोजक शेखर ढकालले जानकारी दिए ।