पथरीशनिश्चरे । राष्ट्रिय युवा संघ मार्फत मोरङको पथरी शनिश्चरे नगरमा कोरोना सहायता कक्ष ( हेल्प डेस्क) खडा गरिएको छ ।
संघको नगर कमिटीले १० सिलिण्डर अक्सिजन ग्यास, सेनिटाइजर, मास्क, खानेपानी सहितका सामग्री व्यवस्थापन गरी कोरोना सहायता कक्ष सञ्चालनका लागि सोमबार वडा नम्बर १ मा अवस्थित पथरी अस्पताललाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय उपमहासचिव विजय डाँगी, केन्द्रीय सचिवालय सदस्य नविन पौडेल र पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कोरोनाको संक्रमणको यस अवस्थामा अन्य विकासलाई थाँती राखेर निस्वार्थ रुपमा मानिस बचाउँने अभियानमा लाग्नुको विकल्प नभएको बताए ।
कसैले घरमा लगेर त्यत्तिकै अक्सिजन राख्नु भन्दा अस्पतालमा अक्सिजन जम्मा पार्न सकेमा संक्रमितको ज्यान बचाउन सकिने भएकाले अक्सिजन ओगट्ने र कृत्रिम अभाव सिर्जना गर्ने कार्य रोक्न सवैले खबरदारी गर्नुपर्ने उनीहरुको धारणा छ ।
नगरपालिका कार्यालयले नगर अस्पतालमा कम्तिमा १५ शैयाको आइसोलेसन सञ्चालन गर्दै नगरका २ वटा एम्बुलेन्स कोरोना विरामी ओसारपसारमा निःशुल्क उपलब्ध गराउने तथा कन्ट्रयाक ट्रेसिङका आधारमा दैनिक पीसीआर परीक्षण कार्य अघि बढाएको छ । नगरमा हालसम्म २५ जनामा कोरोना संक्रमण भएकोमा ७ जना निको भइसकेका छन् । सोमबार २१ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।