संखुवासभामा आइतबार रातिदेखि निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा वृद्धि हुँदै गएपछि आइतबार राति १२ बजेदेखि एक साताको लागि  निषेधाज्ञा गरिने भएको हो । 

सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि जेठ २ गतेसम्म जिल्लाभरी निषेधाज्ञा गरिने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । निषेधाज्ञाको अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन, सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, भेला, सभा सम्मेलन, भोजलगायत भीडभाड हुने गतिविधि गर्न रोक लगाइएको छ । 

अति आवश्यक कामकाज बाहेकका सबै सवारी साधानहरु बन्द गरिएको छ । त्यस्तै अति आवश्यक बाहेकका पसल, कलकारखाना, व्यापारिक कारोबार बन्द गर्न प्रशासन कार्यालयले जिल्लावासीलाई अनुरोध गरेको छ । 

प्रजिअ पौडेलका अनुसार औषधोपचार, दूध, पानी, सरसफाइ, खाद्यान्नलगायतका पसल स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन हुने छ । हालसम्म संखुवासभामा ९० जना सङ्क्रमित भएकोमा १४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।