नेपाली कांग्रेस सुनसरीले आइसोलेसन सञ्चालनका लागि पार्टी कार्यालयको भवन उपलब्ध गराएको छ । 

कांग्रेसले कार्यालयको भवन आइसोलेसन वा आवश्यक्ता अनुसार अन्य प्रयोजनमा प्रयोगमा ल्याउने गरी नगरपालिकाको कार्यालयलाई जिम्मा दिएको छ ।  

जिल्ला सभापति समेत रहेका प्र्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले इनरुवामा रहेको पार्टी कार्यालयको भवनलाई नगरपालिकाले आवश्यकता अनुसार प्रयोगमा ल्याउने गरी उपलब्ध गराइएको जानकारी दिए । 

कोइरालाले विषम परिस्थितिमा जनताको स्वास्थ्यको ख्याल गर्नु प्रमुख दायित्व भएको भन्दै पार्टी कार्यालयको भवन नगरपालिकाको जिम्मा दिएको बताए । 

यसैबीच इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी उपचारार्थ प्रयोजनमा एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने भएका छन् । 

मेहताले एम्बुलेन्स अभावको अवस्था आए आफूले प्रयोग गर्दै आएको गाडी नगरवासीको हकमा प्रयोग गर्न दिने गरी गरी बन्दाबस्ती मिलाइएको बताए । जसका लागि उनले आवश्यकता परेको अवस्थामा ९८४२०५७६८३ नम्बरमा फोन गरी जानकारी गराउन आग्रह गरे । 

मेहताले नगरवासीको हकमा एक, दुई भित्रैबाट पीसीआर परीक्षण समेत थालिने बताएका छन् । उनले सबै वडामा आइसोलेसन सेन्टर तयार पारिने समेत बताएका छन् ।