जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १ गते मध्य राति १२ बजेसम्म मोरङमा निषेधाज्ञा लगाएको छ । 

डिसिसिएमसीको बिहीबार बसेको  बैठकले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी मोरङमा निषेधाज्ञा घोषणा गरिएको हो ।

यस अघि शनिबार १२ बजेपछि लागू हुने गरी एक साता  विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी भएको थियो ।

कोरोनाको दोस्रो लहर चलेसँगै जिल्लाका विभिन्न स्थानीय तहहरुमा संक्रमितहरुको संख्या र मृत्यु दर बढेपछि डिसिसिएमसीको बैठक राखेर मोरङ जिल्लाभरी निषेधाज्ञा थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यक सेवा खरिदबाहेक सवै प्रकारका गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवाहरुबाहेकका सबै प्रकारका सार्वजनिक एवम् निजी सवारीसाधनहरु जेठ १ गते रातिसम्म निषेधाज्ञा लागू गरिएको क्षेत्रहरुमा पूर्णरुपमा रोक लगाइएको छ ।

प्रजिअ निरौलाले भने, ‘कोरोना सङ्क्रमणको चेन रोक्न अत्यावश्यक काममा बाहेक कोही पनि घर बाहिर निस्कन र भेला हुन नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ ।’

डिसिसिएमसीको बैठकले मोरङका १७ वटै स्थानीय तहहरूमा १५ शैय्या भन्दा बढीको १–१ वटा अस्पताल (कोरोना सङक्रमितलाई राखेर उपचार गर्ने) बनाउने निर्णय पनि गरेको छ । यस्तै बैठकले विराटनगरस्थित कोशी कोभिड अस्पतालको पुरानो भवनमा रहेको बेडलाई सञ्चालन गर्न सांसद विकास कोषबाट कोभिड अस्पताल निर्माणका लागि विराटनगर महानगरपालिकामा प्राप्त भएको ३५ लाख बजेटबाट निर्णाय कार्य अगाडि बढाउने पनि निर्णय गरिएको छ ।