लहान नगरपालिका–५ स्थित खुट्टी खोला किनारमा अतिक्रमण गरी बनाइएको घर टहरा हटाउने क्रममा झडप हुँदा पाँच जना घाइते भएका छन् । नगर प्रहरी र स्थानीयवासीबीच आज झडप भएको हो ।

झडपमा परी नगर प्रहरी मनोज यादव, रामदयाल महतो, रामभरोसी यादव, सरसफाइकर्मी बब्लु मेहतर र अनिता मेहतर घाइते भएको नगरपालिकाले जनाएको छ । 

अतिक्रमण गरी बनाइएको घर टहरा हटाउन लिखित र मौखिक रुपमा पटकपटक सूचना दिए पनि अटेरी गरी नहटाएकाले डोजर लगाएर खाली गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमानन्द भुषालले जानकारी दिए । 

लहान नगरपालिका–९ खुट्टी खोला पूर्व लहान गोठ टोल जाने पिच सडकबाट पश्चिमतर्फ बैलहाट सडकबाट पश्चिम खुट्टी खोलाको जग्गामा व्यवस्थित हाटबजार लगाउने योजना रहेकाले अतिक्रमण गरी बनाइएका घर टहरा हटाइएको प्रमुख प्रशासकीय अधिकृत भुषालले जानकारी दिए ।