संखुवासभा जिल्लाको दशै वटा स्थानीय तहमा करिब ११ करोड लगानीमा २९ वटा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भइरहेको छ । 

सघीय सरकारले स्वास्थ्य सेवा केन्द्र नभएको स्थानमा अनिवार्य स्वास्थ्य संस्था पुर्याउने नीति अनुरुप संखुवासभाको विभिन्न क्षेत्रमा स्वास्थ्य केन्द्रको भवन निर्माणलाई अगाडि बढाएको हो ।

जिल्लाभरी नै चालु आर्थिक वर्ष ०७७–७८ मा काम सम्पन्न गर्ने गरी स्वास्थ्य केन्द्र भवनको निर्माण कार्य भइरहेको छ । सबै स्थानीय तहका वडामा स्वास्थ्य केन्द्रको भवन निर्माण गर्ने गरी संघीय सरकारले चालु आर्थिक वर्षमा मा १० करोड ९० लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जसबाट जिल्लामा २९ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको छ । 

खाँदबारी नगरपालिकामा ५ वटा, मादी नगरपालिकामा ६ वटा, धर्मदेवी नगरपालिकामा ६, चैनपुरमा ५, पाँचखपन नगरपालिकामा ५ वटा भवन निर्माण भइरहेको छ । त्यस्तै चिचिला गाउँपालिकामा ३, सभापोखरीमा ३, सिलिचोङमा एउटा भवन निर्माण भइरहेको हो । भोटखोलामा भने जनशक्ति व्यवस्थापन र कार्यालय व्यवस्थापनको लागि संघीय सरकारले दश लाख रुपैयाँ सहयोग गरेको भोटखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्पु भोटेले बताए । उनका अनुसार संघीय सरकारबाट प्राप्त बजेटले गाउँपालिकामा रहेको स्वास्थ्य सेवामा प्रभावकारी बनाउने गरी बजेट प्राप्त भएको छ । 

यता मकालु गाउँपालिकाका प्रत्येक वडामा आवश्यकता अनुसारको स्वास्थ्य केन्द्रहरु सञ्चालन भइरहेको छ । जिल्लाकै ठूलो स्थानीय तह र निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाले गर्दा सेवाग्राहीको चाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आगामी दिनमा आवश्यकता अनुसारको स्वास्थ्य संस्था थप गरिने गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलको भनाइ छ । उनले सरकारको मात्र हैन अन्य दातृ संस्थासँग समेत समन्वय गरेर स्वास्थ्य संस्थालगायतको विकासमा लागि पर्ने बताए । 

स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको मध्ये केही पालिकामा भने निर्माण सम्पन्न भएर सेवा प्रवाह सुरु भइसकेको छ । मादी नगरपालिकामा वडा न. १, २, ५, ६, ७ र ९  मा गत वर्ष नै निर्माण सम्पन्न भएर सेवा सञ्चालन भइरहेको मादी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुश्वराज श्रेष्ठले बताए । 

त्यसैगरी धर्मदेवीको वडा न. १, ३, ५, ६, ८ र ९ मा पनि निर्माण सम्पन्न भइसकेको, खाँदबारी नगरपालिकाको वडा न. ४, ८, ११ मा निर्माण सम्पन्न भएको र २ र ७ मा ठेक्का लागिसकेको खाँदबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलिपकुमार श्रेष्ठको भनाइ छ । 

सभापोखरीको वडा न. २, ४, र ५ चिचिलाको वडा न. १, २ र ५ पाँचखपनको १, ३, ४, ७ र ९ चैनपुरको २, ५, ७, ८ र ११ सिलिचोङको वडा न. ५ मा धमाधम निर्माण भइरहेको जनाइएको छ । भवन निर्माणसंगै स्थानीय नागरिकहरुले सरकारको अनुभूति गर्न थालका छन्।