धनकुटा नगरपालिकामा कार्यरत २ जना प्राविधिक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । 

नगरपालिकाअन्तर्गत वडा कार्यालयमा कार्यरत २ प्राविधिक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालयले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबैखाले सेवा वैशाख २० गते सोमबारदेखि वैशाख २६ गते आइतबारसम्मका लागि बन्द गरिएको नगरपालिकाले जनाएको छ । 

धनकुटाको पिसिआर परीक्षण ल्याबमा शनिबार गरिएको पीसीआर परीक्षणमा धनकुटा नगरपालिकाअन्तर्गत वडा कार्यालयमा प्राविधिक पदमा कार्यरत २ पुरुषमा कोरोना पोजेटिभ देखिएको र अन्य कर्मचारीलाई पनि लक्षण देखा परेकाले थप संक्रमणको जोखिमलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रवाह गर्दै आएको सेवा वैशाख २६ गतेसम्मको लागि बन्द गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले ब्लाष्टलाई जानकारी दिए ।

यो अवधिमा धनकुटा नगरपालिकाले प्रभाव गर्दै आएको अत्यावश्यक सेवा प्राथमिक स्वास्थ्य सेवाहरु, शहरी स्वास्थ्य क्लिनिकहरु, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपद् व्यवस्थापन लगायतका कार्यहरु भने बन्द नहुने प्रमुख प्रशासकीय अधिकृत थापाले ब्लाष्टलाई बताए । 

यस्तै धनकुटा नगरपालिकाले गएको वैशाख ८ गते एकजना विद्यार्थीमा लक्षणसहित कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि गरेको नगरभरिका विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुने निर्णय अर्को सूचना जारी नभएसम्मका लागि थपेको छ ।

धनकुटा नगरपालिकाको कोभिड संकट व्यवस्थापन समिति (सिसिएमसी) को बैठकले विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति सहितको पठनपाठन नगर्ने, भर्चुअल वा वैकल्पिक सिकाइ विधिको उपयोग गरी शैक्षिक गतिविधि संकलन गर्ने निर्णय गरेको हो । 

नगरपालिकाले परीक्षा संचालन भइरहेको विद्यालयहरुमा पनि परीक्षाका सबै गतिविधि रोक्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए । धनकुटा नगरभरीका १० वडामा ५३ वटा सामुदायिक तथा संस्थागत विद्यालय संचालनमा छन् ।

अत्यावश्यक बाहेकका सवारी साधनलाई प्रस्थान गर्न नदिइने

पछिल्ला केही दिनयता धनकुटामा पनि कोरोना संक्रमितको दिन प्रतिदिन संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय धनकुटाले अत्यावश्यकीय काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । 

डिसिसिएमसीको बैठकले घर बाहिर निस्किनै परे पनि सरकारले जारी गरेका सबै स्वाथ्य मापदण्डको पालना गर्न आग्रह गर्ने लगायतका निर्णय गरेको हो । सो बैठकले सबै स्थानीय तहमा संक्रमित भए होम आइसोलेसनमा बस्ने व्यवस्था मिलाउने र स्थानीय तह आफैलाई पनि आइसोलेन बनाउन लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिएका छन् । 

डिसिसिएमसीको बैठकले धनकुटा हुँदै अन्य स्थानतर्फ जाने यातयातका साधनलाई नरोक्ने तर धनकुटाबाट अत्यावश्यक बाहेकका सवारी साधनलाई प्रस्थान गर्न नदिने निर्णय गरेको छ । त्यसैगरी बैठकले जिल्ला अस्पताल धनकुटाले कोरोना संक्रमितहरुको उपचार, कोरोना परीक्षण, आइसोलेसनमा बस्नेहरुको खाना व्यवस्थापन लगायतको शीर्षकमा माग गरेको ३० लाख रुपैयाँ गृह मन्त्रालय मार्फत् केन्द्रीय कोरोना कोष, १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग माग गर्ने निर्णय समेत गरेको छ ।