साविक वराहक्षेत्रमा विपन्न परिवारका क्यान्सर रोग भएकाहरुलाई उपचार खर्च जुटाउन स्थानीय लालकुमार राईले २ लाखको अक्षयकोषको स्थापना गरेका छन् ।

सोमबार प्राथमिक स्वास्थ्य केन्द्र चतरामा आयोजित कार्यक्रममा राईले प्रमुख अतिथि तथा प्रा.स्वा. केन्द्रका संरक्षक निलम खनाललाई अक्षयकोष बापत् स्थानीय चतरा बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गरिएको रकमको नगदी रसिद हस्तान्तरण गरे ।

अक्षयकोषबाट आउने ब्याजको ९० प्रतिशत रकमले स्थानीय १ र २ नं. वडाका क्यान्सर पीडितको स्वास्थ्य बिमा गरिने छ  । बाँकी रकम मुख्य कोषमा जम्मा गरिने अक्षयकोष दाता लालकुमार राईले बताए ।

कोष सञ्चालन गर्नका लागि राईको अध्यक्षतामा ५ सदस्यीय समिति बनाइने छ ।  कोषको सचिवमा स्वास्थ्य केन्द्रका एक जना रहने छन् । सदस्यहरुमा दाताले तोकेको दुई र एक जना सदस्य व्यवस्थापन समिति अध्यक्ष वा प्रतिनिधि रहने दाता राईले बताए ।

दाता राईलाई नगर प्रमुख खनाल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रहेका २ नम्बर वडाका अध्यक्ष हरिकृष्ण भट्टराईले दोसल्ला ओढाएर सम्मान गरे । 

कार्यक्रममा बोल्दै स्वास्थ्य केन्द्रका पूर्व व्यवस्थापन समिति अध्यक्ष ओमकुमार शर्माले अक्षयकोषको स्थापनाले गाउँका अति विपन्नको स्वास्थ्यमा पहुँच सहज हुने बताए । राईले ग्रामिण स्वास्थ्यको विकासमा गुण लगाएकोमा आदर्श माविका प्रअ प्रह्लाद भट्टराईले प्रशंसा गरे ।

 प्रा.स्वा. केन्द्रको सभाहलमा केन्द्रका व्यवस्थापन निर्देशक डा. अनिल गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति वराहक्षेत्र १ र २ का अध्यक्ष, सामाजिक अगुवा राईले दिवंगत् श्रीमती पवित्रा लिम्बुनीको सम्झनामा ‘पवित्रा लिम्बुनी स्मृति स्वास्थय बिमा अक्षयकोष’ को स्थापना गरेका हुन् ।